
मनोज अधिकारी
इलामः रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरु व्यवसायिक भएका छन् । गत पुस ४ गतेदेखि १५ सम्म तालिम लिएका महिलाहरु यतिबेला विवाह, ब्रतबन्ध, पुराण लगायतका शुभकार्यमा गएर नौमती बजाउन व्यस्त भएका हुन् ।
उद्यमशील महिला समुह रोङ–२ की बविता बोहोरालाई छिमेकी जिल्ला झापाबाट ना्रैमती बजाउन भन्दै फोन धेरै आउन थालेको छ । झापाको विर्तामोड, उर्लाबारी, धुलाबारी, दमक लगायत क्षेत्रबाट फोन आउने गरेको बोहोराले बताउनुभयो । ‘हालसम्म ७ वटा कार्जेमा नौमती बजायौँ । अझै वैशाखसम्मलाई फोन आईरहेको छ ।’ उहाँले भन्नुभयो, ‘हामी ५ देखि ११ जनाको टोली जान्छौँ । कसैले दश हजार कसैले १५ हजार त कसैले २०–२५ हजार दिने गर्नुभएको छ ।’



गीता कट्टेललाई नौमती बाजाको तालिम लिँदा आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन । ‘गाउँपालिकाले जुुराएको अवसर उपयोग गर्न सीप सिकौँ भनेर गएको थियौँ । तर, यसरी व्यवसायीक आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन ।’ कट्टेलले भन्नुभयो ।
नौमती बजाउन ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न आयोजना गरिएको तालिम प्रभावकारी भएको गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया भुजेलले बताउनुभयो । ‘महिलाको क्षमता विकास गर्न, उनीहरुलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सबल बनाउन तालिमले सहयोग पुर्याएको छ ।” उपाध्यक्ष भुजेलले भन्नुभयो, ‘बाजागाजा कुनै जातले छुने, कसैले नछुने भन्ने पुरातन सोच अब राख्नु हुन्न । लोप हुँदै गएका संस्कार, संस्कृति, लोकबाजा संरक्षण गर्नु सबैको दायित्व पनि हो ।’
सुरूका दिनमा बाजा बजाउँदै हिँड्दा कुरा काट्नेले हाल प्रशंसा गर्ने गरेको कट्टेलले बताउनुभयो । ‘ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई कहिलेकाहीँ व्यङ्ग्य पनि गरे । तर, सीप सिक्न छाडेनौ । अहिले त रोजगार भयो । उहाँले भन्नुभयो ।
विभेदले समाजमा एकता नल्याउने भएकाले नौमतीलाई सबैको साझा लोकबाजाको रुपमा स्थापित गर्न तालिम लिएको अर्की सहभागी महिला भीमा भट्टराईको भनाइ छ । विगतमा नौमती छुइन्छ की भन्दै तर्किने समुदायले नौमतीलाई साझा लोक संस्कृतिको रुपमा स्वीकार्न थालेको स्थानीय रामबहादर दर्जीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसरी सबैको सोच परिवर्तन भएमा विभेदरहित समाज सम्भव छ ।’
महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा तालिम दिईएको थियो । रोङ सङ्गिनी समूहको मागअनुसार महिलाको आयमा सुधार गर्न तालिम सञ्चालन गरिएको शाखा प्रमुुख राधिका तामाङ्गले बताउनुभयो । उहाँका अनुसार, तालिमको सहजिकरण झापाको विर्तामोडस्थित माता पाथिभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवी प्रसाईँले गर्नुभएको थियो ।
नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल रहने प्रशिक्षक आचार्यले बताउनुभयो ।