राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खर्च धान्न मुस्किल

द्वारा प्रकाशित गरिएको हो |
२०८१ फाल्गुन २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलामः जिल्ला खेलकुद विकास समिति इलामले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खर्च धान्न मुस्किल परेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयब्यय सार्वजनिक गर्दै समितिले माई नगरपालिकामा गत फागुन ४,५ र ६ गते सञ्चालित उक्त प्रतियोगितामा २० लाख ४ हजार ९ सय ५७ रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

माई नगरपालिकाले १३ लाख खर्च सहयोग गरेपनि अन्य श्रोत नहुँदा ७ लाख ४ हजार ९ सय ५७ रुपैयाँ खर्च धान्न मुस्किल परिरहेको समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताउनुभयो । ‘केही पालिकाहरुले निर्णय गरेर सहयोग गर्ने भनिएको रकम उपलब्ध नगराउँदा समितिलाई खर्च धान्न धौ–धौ परेको छ ।’ अध्यक्ष बाँस्तोलाले भन्नुभयो, ‘प्रतियोगितालाई पालिकास्तरमा सञ्चालन गर्दा गाउँगाउँमा खेलकुदको क्रेज वृद्धि भईरहेपनि खर्च अभावकै कारण बाँकी प्रतियोगिता गर्न मुस्किल पर्ने भयो ।’

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माईस्थित सितली खेल मैदानमा सम्पन्न प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठसय ९५ विद्यार्थी (खेलाडी) सहभागी थिए । रेफ्री र अन्य प्राविधिक एकसय २० जना रहेका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्ट विधाका विभिन्न खेल सञ्चालन गरिएको थियो भन सबै विधाका खेलमा छात्र र छात्राका अलग–अलग प्रतिस्पर्धा गराइएको थियो ।  प्रतियोगिताका लागि केन्द्र तथा प्रदेशबाट बजेट नछुुट्टिनु, समितिसँग रकम नहुनु र पालिकाहरुले निर्णय गरेको रकम भूक्तानी नगर्नुले खर्च धान्न मुस्किल परेको अध्यक्ष बाँस्तोलाको भनाई छ ।

सदरमुकाम बाहिर सञ्चालन सुरु भएको राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता आउँदो बर्ष सञ्चालनका लागि सुर्योदय नगरपालिकाले झण्डा ग्रहण गरेको छ । यस अघि १४ औ प्रतियोगिता माङ्सेबुङ गाउँपालिका र १३ औं प्रतियोगिता फाकफोकथुम गाउँपालिकामा सम्पन्न भएको थियो ।
लगातार तीन वर्षयता सदरमुकाम बाहिरका पालिकामा सञ्चालन भइरहेको प्रतियोगिता यसपटक माई नगरमा गर्न पाउँदा यहाँको पर्यटन र आर्थिक विकासमा टेवा पुगेको माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले बताउनुभयो ।

‘यहाँ खेलकुद प्रतियोगिता मात्र भएको होईन, स्थानीय व्यवसायीलाई पनि आम्दानीको माध्यम बन्यो ।’ उहाँले भन्नुभयो, ‘समग्र माई नगरको पर्यटकीय क्षेत्रको प्रचारमा सहयोग पुगेको छ ।’  प्रतियोगिता सङ्घीयतालाई कार्यान्वयन गर्ने एउटा रूप भएको उपप्रमुख हिमा भण्डारीले बताउनुभयो । ‘सम्बन्धित पालिकाको पर्यटन, संस्कृतिको प्रचार र आर्थिक विकासमा पनि यो प्रतियोगिताले सहयोग पुग्छ ।’ भण्डारीले भन्नुभयो ।
फाकफोकथुममा प्रतियोगिता आयोजना गर्दा १६ लाख र माङ्सेबुङमा २३ लाख रुपैयाँको कारोबार भएको समितिका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय