
इलाम– चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई निसाना बनाएर आक्रमण गरिएको घटनाको विरोध गर्दै इलामका पत्रकारले सरकारको ध्यानाकर्षण गरेका छन् ।
साता दिनभित्र माग सम्बोधन हुने विश्वसनीय आधार तयार नभए महासंघले सरकारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम गर्ने चेतावनीसमेत पत्रकारले दिएका छन् ।



नेपाल पत्रकार महासंघ, इलाम शाखामा आबद्ध पत्रकारहरूले दोषीलाई कारबाही गर्न र पत्रकारको भौतिक सुरक्षा सुनिश्चित गर्न माग गर्दै सिडिओमार्फत् प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका हुन् ।
महासंघ शाखा अध्यक्ष भीम चापागाईं नेतृत्वमा सिडिओ कार्यालय पुगेका पत्रकारहरूले तीनकुने घटनामा पत्रकारलाई जलाएर हत्या गरिएको, मिडियामा आगजनी र तोडफोड गरिएको भन्दै दोषीलाई कारबाही माग गरेका हुन् । यतिको घटना हुँदासमेत पत्रकारलाई सुरक्षा दिन नसक्नु सरकारको कमजोरी भएको महासंघका पूर्वकेन्द्रीय सदस्य तथा इलाम शाखाका पूर्वअध्यक्ष सटेन्द्र जबेगूले बताए ।
इलामका अगुवा पत्रकार विजयशेखर भट्टराईले पत्रकारको भौतिक सुरक्षा सुनिश्चित गरी बाँच्न र लेख्न पाउने वातावरण बनाउन माग गरे । जबेगू, भट्टराईसहित शाखा उपाध्यक्ष लोकेन थेबे, सहसचिव बलराम बराइली, कोषाध्यक्ष भगीरथ भण्डारी, पूर्वकोषाध्यक्षहरू सुदीप श्रेष्ठ, योगेन्द्र शंकरलगायत पत्रकारहरू ध्यानाकर्षणपत्र बुझाउन सिडिओ कार्यालय पुगेका थिए ।
तीनकुने घटनामा प्रदर्शनकारीले गरेको आगजनीले रिपोर्टिङमै रहेका पत्रकार सुुरेश रजकको मृत्यु भएको थियो । हत्यामा संलग्न दोषीलाई फौजदारी अभियोगमा कारबाही गर्न महासंघले माग गरेको छ । घटनामा घाइते पत्रकारहरूको उपचार गर्न, मृतकको परिवारलाई क्षतिपूर्तिको प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ ।
ध्यानाकर्षणपत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई कानुुनी कठघरामा उभ्याएर सञ्चारमाध्यम तथा सञ्चारकर्मीको सुुरक्षाको उचित प्रबन्ध मिलाउन महासंघले माग गरेको उल्लेख छ ।
महासंघ केन्द्रीय समिति, प्रदेश समिति, शाखालगायत सबै इकाईले सोमबार देशभरबाट सरकारको ध्यानाकर्षण गर्दै सुरक्षा माग गरेका हुन् ।