
यो समाचार पालिकापेजबाट साभार गरिएको हो ।
इलामः यतिबेला नेपाली रियालीटी सो ‘द भ्वाइस अफ् नेपाल सिजन–६’ चलिरहेको छ ।



संगीत क्षेत्रमा उर्बर इलामले धेरै कलाकार जन्माइसकेको छ । यसैक्रममा इलामकै अर्का युवक पनि सांगीतिक आकाशमा निकै चर्चा कमाइरहेका छन् ।
इलामको रोङ गाउँपालिका–६, सलकपुरको सनसिटी भिलेजका प्रमेश राई ‘द भ्वाइस अफ् नेपाल सिजन–६’को अन्तिम १२ मा पुगिसकेका छन् । निर्णायकले निकै रुचाएका प्रमेशलाई दर्शक र स्रोताले पनि मन पराइरहेका छन् ।
हिमालयन टेलिभिजनमा प्रत्येक शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण हुने रियालीटी सोमा चार निर्णायकमध्ये कोच राजु ९लामा०को टिमबाट उनी हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङ राउन्डमा पुगेका हुन् ।
उनलाई जिताउन चाहनेका लागि अहिले भोटिङ पनि खुला छ ।
‘ब्लाइन्ड अडिसन’मा ‘एउटा सपना छ तिमीलाई माया गर्ने’ बोलको गीत गाएर निकै चर्चामा आएका प्रमेश चारै कोचको कुर्सी घुमाउन सफल भएका थिए । ‘ब्याटल राउन्ड’मा ‘बाबरी रंगमा’ बोल गीत गाउँदै नकआउटमा ‘फिजेको केसमा सिउरेको’ गीत गाएसँगै प्रमेश ‘लाइभ राउन्ड’मा प्रवेश गरेका हुन् । यही गीतले उनलाई चर्चित बनायो ।
अहिले संगीतमै स्नातक गरिरहेका प्रमेशको भोटिङ शनिबारदेखि खुला भएको हो । उनलाई भोट गर्न खल्ती एप डाउनलोड गरी प्रमेशको फोटोमा गएर जति पनि भोट गर्न सकिने उनले इलामका पत्रकारहरूसँग बताए ।
उनले इलामबासीसहित सबैलाई आफूलाई भोट गरी जिताउन आग्रह पनि गरेका छन् । अघिल्लो सिजनमा पनि इलामकै विनोद राईले यो उपाधि जितेका थिए ।
प्रमेश सामान्य परिवारमा जन्मेर हुर्किएका हुन् । पूर्णबहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमा–बुबाले कृषिकर्म नै गरेर हुर्काए ।
सानैबाट संगीतमा रुचि भएका प्रमेशले २०७५ सालमा औपचारिक रूपमा संगीत शिक्षा सिक्न थालेका हुन् । झापा बिर्तामोडमा रहेको सरगम संगीतालयमा दीपक रायमाझीसँग संगीत सिकेका राई अहिले काठमाडौंको पुरानो बानेश्वरस्थित धुन कलाकेन्द्रमा कैलाश राईसँग सिक्दैछन् ।
प्रमेशकै स्थानीय तह रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले प्रमेश देशकै उत्कृष्ट प्रतिभा रहेको भन्दै उनैले यो प्रतियोगिता जित्ने विश्वास व्यक्त गरे । उनले प्रमेशलाई भोट दिएर जिताउन पनि सबैमा आग्रह गरे ।
इलामका जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईलगायत विभिन्न पालिकाका प्रमुख–उपप्रमुखले प्रमेशसँगै भिडियो क्लिप्ससमेत खिचाउँदै उनलाई जिताउन सबैमा आग्रह गरेका छन् ।