चौध वर्षदेखि बेपत्ता सञ्चमायाको पखाईमा परिवार

द्वारा प्रकाशित गरिएको हो |
२०८२ बैशाख ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
इलाम,०७वैशाखः घरमा सोझा श्रीमान र पाँच जना मसिना बालबच्चा थिए । कमजोर आर्थिक अवस्थाका कारण खानलाउन प्रशस्त थिएन । सूर्योदय नगरपालिका–५ गोरखकी सञ्चमाया राईका लागी विदेश जानु पारिवारिक बाध्यता थियो ।

एजेन्टले बिना लगानी, बिना पासपोर्ट विदेश लगिदिन्छु भनेपछि सञ्चमायालाई पैसाको लोभ भयो । वि.सं २०६८ सालमा इलामबाट झापा पुर्याएर भारत हुँदै साउदीमा बेपत्ता बनाईएकी सञ्चमाया १४ बर्षदेखि बेखबर हुनुहुन्छ ।

‘आमाको नागरिकता हरायो । सोधीखोजी गर्ने केही माध्यम छैन ।’ सञ्चमायाकी छोरी शृजनाले भन्नुभयो, ‘एजेन्टले दिल्लि पुर्याएपछि १४ दिन बिरामी पर्नुभएछ । त्यसपछि साउदी पुर्याएको खबर थाहा सुनियो । तर, आमासँग कुरा हुन पाएन ।’

गाउँका अन्य महिलाहरुलाई पनि अवैध बाटोबाट खाडी मुलुक पठाएको एजेन्ट अहिले नेपालमा नहुँदा खोजी गर्न समस्या छ । ‘एजेन्ट पनि आजकाल विदेशतिरै भासिएर सम्पर्क टुटेको छ ।’ शृजनाले भन्नुभयो, ‘म सानो हुँदा आमा जानुभएको अलि–अलि सम्झना छ । यतिका समय बित्यो । सम्पर्क छैन । न सास–न लास केही पत्तो भएन ।’

शृजनाले स्थानीय सरकारसँग आमा खोजीदिन गुहार गर्नुभएको छ । ‘नागरिकता भए सजिलो हुन्थो रे ! मामली गाउँको वडामा गएर आमाको नागरिकता नम्बर खोज्यौँ । तर, आगलागी हुँदा ढड्डा डढ्यो भन्नुभयो । खै केही उपाय होला की ।’

सूर्योदय–५ का वडाध्यक्ष उर्गेन बम्जनले सूर्योदय नगरपालिकासँग जोडिएको रेमी परियोजनाले पहल गरिरहेको बताउनुभयो । ‘सुरक्षित आप्रवासन सञ्चालन परियोजना (रेमी) मार्फत हामी नागरिकता नम्बर खोजीमा छौँ । कस्ले फसायो । उहाँ कहाँ हुनुहुन्छ पत्तो लगाउनु हाम्रो पनि कर्तब्य हो । परिवारको गुनासोले मलाई पनि पिरोलेको छ ।’ वडाध्यक्ष बम्जनले भन्नुभयो, ‘सञ्चमायाका श्रीमान नरबहादुर सोझो हुनुहुन्छ । खेती किसानी गरेर बच्चा हुर्काउनुभयो । अब सन्तान बढेपछि आमाको खोजी गरिरहेका छन् । वडा साथमा छ ।’

वडाध्यक्ष उर्गेन बम्जन

श्रीमति वेपत्ता भएको पीर मनभरि भएपनि नरबहादुरलाई व्यक्त गर्न आउँदैन । सम्झनामा गहभरी आँशु पार्दै भक्कानिनु बाहेक कानुनी तरिकाले खोजीमा पुग्ने क्षमता छैन । ‘धेरै पढ्नु भएन । बोल्न, भन्न आँट गर्नुहुन्न । हामी छोराछोरीले खोजी गर्न सुरु गरेका छौँ । भाग्य रहेछ भने आमा भन्न पाईएला ।’ कान्छा छोरा बिराजले भन्नुभयो ।

सोझा नरबहादुर

सञ्चमाया र नरबहादुरका छोराहरु रबिन, देउराज, बिक्रम र बिराज हुनुहुन्छ । बिराज माध्यमिक तह पढिरहनुभएको छ । छोरी शृजना झापा बसेर ब्याचलर गरिरहनुभएको छ भने तीन छोरा भारतमा श्रम गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय