
इलाम– इलाममा ज्वाईंले धारिलो हतियार प्रहार गरी जेठीसासू (पत्नीकी दिदी)को हत्या गरेका छन् ।
माई नगरपालिका ४, सिञ्जालीटारका ४२ वर्षे शान्तिराम दुलालले त्यही ठेगानाकी ५२ वर्षीया भूमिका चापागाईंको हत्या गरेका हुन् ।



साँझ ७ बजेतिर टाउकामा हतियार प्रहार गरिएकामा राति १०ः२० बजेतिर उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते चापागाईंको उपचार माई नगरमा हुन नसकेपछि झापाको बिएन्डसी अस्पताल लगिएकामा अस्पतालमै उनको मृत्यु भएको हो ।
शान्तिराम र उनकी पत्नीको मानाचामल मुद्दा चलिरहेका बेला भूमिकासँग शान्तिरामको अदालत परिसरमा विवाद भएको स्थानीयले जनाएका छन् । विवादपछि भूमिकाले शान्तिरामविरुद्ध अवहेलना मुद्दासमेत दायर गरेकी थिइन् ।
शान्तिरामलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।