
मनोज अधिाकारी
इलाम,१६वैशाखः यतिबेला इलामका किसानको चिया टिपाई धमाधम छ । तर, मलको अभाव हुँदा उत्पादन खस्किएपछि ३० हजार बोरा मल उपलब्ध गराईदिन सरकारसमक्ष माग गरिएको छ ।
इलाम क्षेत्र नं १ का संघीय सांसद महेश बस्नेतले कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलाई पत्र पठाउँदै इलाममा चिया खेतीका लागि अर्गानिक मल वा ३० हजार बोरा युरिया मल अविलम्ब उपलब्ध गराईदिन माग गर्नुभएको हो ।



सांसद बस्नेतका अनुसार, इलाम क्षेत्र नं १ मा मात्र ६५ वटा चिया कारखाना सञ्चालित छन् भने जिल्लाभरिमा सयौँको संख्यामा कारखाना छन् । यि कारखानाले उत्पादन गरेको तयारी चिया चार अरब भन्दा बढी मुल्यमा विदेशमा निर्यात गरि विदेशी मुद्रा आर्जन भैरहेको छ ।
‘चियाखेतीका लागि आवश्यक पर्ने अर्गानिक मल हालसम्म सरकारले उपलब्ध गराउन सकेको छैन भने युरिया मल समेत चियाखेतीका लागि उपलब्ध भएको छैन ।’ सांसद बस्नेतले भन्नुभयो, ‘समयमा मल प्राप्त नभए उत्पादन आधाभन्दा बढी घट्ने र चिया किसानलाई ठुलो नोक्सानी हुनेछ । त्यसैले अर्गानिक मल वा ३० हजार बोरा युरिया मल अविलम्ब उपलब्ध गराईदिन मन्त्रीज्यूलाई पत्र पठाएको छु ।’
समयमा मल लगाउन नपाउँदा पोहोर भन्दा चिया उत्पादन घटेपछि इलामका किसान समस्यामा छन् । ‘गएको साल त बेलैमा मल पाईएको थियो । चिया राम्रो बेचियो । यसपाली त मल नै भएन चिया बगान पनि खास्सै रहरलाग्दो छैन ।’ सूर्योदय नगरपालिका–१ मकरजुङका किसान मित्रभक्त अधिकारीले भन्नुभयो, ‘बेलामा आकासे पानी नपर्नु र मल अभाव हुँदा त बगानमै नपस्नुजस्तो छ ।’
समयमा मल उपलब्ध गराईदिन तीन तहका सरकारलाई किसानले गुहार गरिरहेका छन् । किसानले लगातार आग्रह गरेपछि सांसद बस्नेतले गत साता यहाँका चिया किसानसंग भेट गर्नुभएको थियो । उहाँले चिया बगानको निरिक्षण गर्नुभयो । किसानका समस्या समाधान गर्न कृषिमन्त्रीलाई औपचारिक पत्र पठाएको उहाँको भनाई छ ।
‘मन्त्रीज्यूसँग मलाई विश्वास छ । चिया किसानले मल पाउने कुरामा आशावादी बन्न म आग्रह गर्छु ।’ उहाँले भन्नुभयो ।