
इलाम, २६ वैशाखः सूर्योदय नगरपालिका–१ स्थित ऐतिहासिक गोर्खे बजार जिल्लाको पुरानो प्रमुख व्यापारिक केन्द्रको रूपमा चिनिन्छ । ०४६ सालको राजनीतिक परिवर्तनसँगै यहाँको व्यापारिक गतिविधि घटेको भएपनि पछिल्लोसमय विद्यार्थीहरुका लागि अवलोकन भ्रमणको प्रमुख गन्तब्य बनिरहेको छ ।
यतिबेला क्यानडाका १५ विद्यार्थीको टोली अवलोकन भ्रमणका लागि गोर्खे आईपुगेको छ । उनीहरूले यहाँस्थित पूर्वेली सामुदायिक होमस्टेमा बसेर तीन दिनसम्म अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको वडाध्यक्ष राजकुमार शेरेङले बताउनुभयो । ‘गोर्खे बजारको ऐतिहासिक महत्व, यहाँको जनजीवन र थुम्केको विशेषता अध्ययन गर्न उनिहरु आएका हुन् ।’ वडाध्यक्ष शेरेङले भन्नुभयो,‘ ‘यस भ्रमणले गोर्खे बजारको सांस्कृतिक र ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न मद्दत पुर्याउने अपेक्षा छ ।’



गोर्खे बजार राणाकाल अघिदेखि अस्तित्वमा रहेको पुरानो व्यापारिक केन्द्र भएकै कारण विश्वका विभिन्न मुलुकबाट अवलोकन भ्रमणमा पर्यटक आउने गरेको सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । ‘पहिले गोर्खे जडीबुटी, नून, चामल लगायतका सामग्रीहरूको किनमेल र बिक्री हुने प्रमुख केन्द्र थियो । ०४६ सालको राजनीतिक परिवर्तनपछि यहाँको व्यापारिक गतिविधि घटेको भए पनि ऐतिहासिक महत्त्व कायम छ ।’ नगरप्रमुख राईले भन्नुभयो, ‘विदेशी विद्यार्थीहरुले गोर्खेलाई अध्ययन अवलोकन भ्रमणको गन्तब्य बनाउन थालेका छन् ।’
लेकाली क्षेत्र भएका कारण यस क्षेत्रको जैविक विविधता र प्राकृतिक सम्पदाले यसलाई जडिबुटीहरूको लागि पनि प्रसिद्ध बनाएको छ । यहाँ उच्च रक्तचापको उपचारमा उपयोग गरिने सर्पगन्धा, श्वासप्रश्वासका समस्यामा, ज्वरोमा, र रोग प्रतिकारक क्षमता बढाउन उपयोगी तुलसी, सर्पदन्ती, पिपल, बेल, अलैँची लगायतका जडिबुटी पाईने गरेको स्थानीय गोबिन्द सापकोटाले बताउनुभयो ।
यहाँका प्रमुख स्थलहरूमा सिंहदेवी मन्दिर, राम मन्दिर, नेवारी चैत्य र ढुंगे धारा रहेका छन्, जसले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्छ । गोर्खेस्थित थुम्के डाँडा पर्यटकीय क्षेत्रको रूपमा चिनिन्छ, जहाँबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रको मनोरम प्राकृतिक दृश्य र दुर्लभ रेडपाण्डा अवलोकनका लागि विदेशी पर्यटकहरू आकर्षित हुँदै आएका छन् । यहाँ चित्रे गुम्बा, खोले बाबा कुटी र थामी जातिको धार्मिक स्थलहरू पनि अवलोकन गर्न सकिने हिमालय माद्यमिक विद्यालयका शिक्षक विशाल मास्केले बताउनुभयो ।
यहाँस्थित थुम्के इलाम जिल्लाको एक महत्वपूर्ण जैविक विविधता क्षेत्र हो, जहाँ लोपोन्मुख रेडपाण्डा पाइन्छ । यस क्षेत्रको उचाइ र वनस्पति संरचनाले रेडपाण्डा जस्ता संवेदनशील प्रजातिका लागि उपयुक्त आवास प्रदान गर्दछ । ‘रेडपाण्डा प्रायः २२०० देखि २७०० मिटर उचाइमा पाइन्छ, जहाँ घना ब्रोड–लिभ्ड वन र बांसको घना आवरण हुन्छ ।’ स्थानीय सन्देश खड्का भन्नुहुन्छ, ‘यसका मुख्य आहारमा बांसको पात र टहनीहरू हुन्् । यो प्रायः राति सक्रिय हुन्छ ।’
गोर्खे बजारको पूर्वाधार विकासमा सूर्योदय नगरपालिका सक्रिय रहेको छ । नगरपालिकाले यहाँको सडक सञ्जाल सुधार र होमस्टे व्यवस्थापनमा ध्यान दिइएको छ । स्थानीयवासीको मागअनुसार बजारको रौनक बढाउन विभिन्न कार्यक्रमहरूको आयोजना हुनेगरेको छ । ‘समग्रमा, गोर्खे बजारले ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र व्यापारिक दृष्टिले महत्वपूर्ण स्थान ओगटेको छ ।’ नगरउपप्रमुख दुर्गाकुमार बरालले भन्नुभयो, ‘यसको संरक्षण र प्रवद्र्धनले स्थानीय समुदायको आर्थिक र सांस्कृतिक समृद्धिमा योगदान पुर्याउनेछ ।’
क्यानेडाबाट आएका विद्यार्थीहरूले गोर्खे बजारका प्रमुख स्थलहरूमा भ्रमण गरेका छन्, जसमा शक्तिपीठ, सिंहदेवी मन्दिर, राम मन्दिर, नेवारी चैत्य, ढुंगे धारा र करिआप्पा स्थल समावेश छन् । यस भ्रमणमार्फत उनीहरूले यहाँको सांस्कृतिक र धार्मिक धरोहरहरूको अध्ययन गर्ने बताईएको छ । ‘क्यानडाका विद्यार्थीहरूको यस भ्रमणले स्थानीय समुदायसँग अन्तरसंवाद र सांस्कृतिक आदानप्रदानको अवसर सिर्जना गरेको छ ।’ वडासचिव गोविन्द चेम्जोङले भन्नुभयो, ‘यसले गोर्खे बजारको पर्यटन प्रवद्र्धनमा थप उत्साह र चासो ल्याउने विश्वास गरिएको छ ।’
यस भ्रमणको समापनपछि विद्यार्थीहरूले गोर्खे बजारको सांस्कृतिक र ऐतिहासिक महत्वको बारेमा आफ्नो अध्ययन र अनुभव साझा गर्ने कार्यक्रम आयोजना गर्ने योजना बनाइरहेको बताएका छन् । गोर्खे आउने पर्यटकलाई यहाँका स्थानीयले सास्कृतिक भेषभूषामा सजिएर स्वागत गर्ने गरेका छन् ।