इलामका पालिकामध्ये सूर्योदयको बेरुजु सबैभन्दा कम

द्वारा प्रकाशित गरिएको हो |
२०८२ जेष्ठ २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी, इलामः इलामको सूर्योदय नगरपालिकाले इलामका १० पालिकामध्ये सबै हिसाबले अग्रस्थानमा रहेको छ । नीति नियम र निर्देशिका अनुसार दिगो लक्ष्य निर्धारण गरेर अगाडि बढी रहेको सूर्योदय नगरपालिका आर्थिक पारदर्शीताका हिसाबले समेत अगाडि नै रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औँ प्रतिवेदन अनुसार इलामका १० पालिकामध्ये सूर्योदय नगरपालिका सबैभन्दा कम बेरुजु भएको पालिकामा परेको छ । आर्थिक वर्ष २०८०÷०८१ को महालेखाको प्रतिवेदन अनुसार सूर्योदयको बेरुजु शून्य दशमलव दुई दुई (०.२२%) प्रतिशत मात्र छ । चार नगरपालिका र छ गाउँपालिका रहेको इलाममा विगतका वर्षदेखि नै सूर्योदयको बेरुजु कम नै देखिँदै आएको छ ।
सूर्योदय सबैभन्दा कम बेरुजु ०.२२ प्रतिशत रहँदा इलामको माई नगरपालिकामा सबै भन्दा बढी ४ दशमलव ८६ प्रतिशत रहेको छ । बेरुजु कम भएको दोस्रो पालिकामा सन्दकपुर गाउँपालिका शून्य दशमलव ३८ प्रतिशतमा छ । क्रमशः बेरुजु कम गर्ने पालिकामा तेस्रो स्थानमा माईजोगमाई गाउँपालिका ० दशमलभ ८० प्रतिशत छ । त्यसैगरि क्रमशः देउमाई नगरपालिका १.०४ प्रतिशत, इलाम नगरपालिका १.३७ प्रतिशत, फाकफोकथुम गाउँपालिका १ दशमलभ ६१ प्रतिशत, रोङ गाउँपालिका २.२४ प्रतिशत, चुलाचुली गाउँपालिका २.३८ प्रतिशत, माङसेबुङ गाउँपालिका २. ७४ प्रतिशत रहेका छन् ।

सूर्योदयका नगरप्रमुख रणबहादुर राईले बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ नगर अगाडि बढी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक पारदर्शीताका लागि हामीले नीति, नियम र निर्देशिका बनाएका छौ, सबैले पालना गर्दा बेरुजु शून्यमा झार्न सकिन्छ ।’

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले बजेट निर्माण र कार्यान्वयनमा भएको अनुशासन पालना, कार्यक्रम कार्यान्वयन गर्न निर्देशिका तयार, शाखाबिचको समन्वय, कानुनी प्रक्रिया बाहेक कुनै दबाब नभएको र आन्तरिक लेखा परीक्षण प्रभावकारी रहेका कारण बेरुजु कम भएको बताउनुभयो । उहाँले नीति नियमको पालना गरेर काम गर्दा बेरुजु कम गर्न सकिने बताउनुभयो ।

सूर्योदय नगरले आन्तरिक आम्दानी वृद्धि गर्न विभिन्न योजना निर्माण गरिरहेको जनाएको छ । गत आर्थिक वर्ष आर्थिक विकास र सुशासन तर्फ सूर्योदय नगरपालिका देशकै पहिलो भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय