
इलामः सूर्योदय नगरपालिकाभित्रका अधिकांश अलवेदर सडकहरु कालोपत्रे चरणमा निर्माणाधिन छन् । चैत्र–वैशाख देखि परेको बेमौसमी बर्षाका कारण काममा अवरोध भएपछि रोकिएको काम यतिबेला धमाधम सुरु भएको छ । सूर्योदय–१ स्थित ऋषिमोड–गोर्खे–मानेभञ्ज्याङ्ग सडक अन्तर्गत मकरजुङ खण्डको एक किलोमिटर सडक कालोपत्रे र थप आर.सि.सि. ढलानको काम असार १० सम्ममा सक्नेगरी सुचारु गरिएको निर्माण कम्पनी जय लक्ष्मी किनट जे.भी झापाले बताएको छ ।
उक्त आयोजनाका सव–ईन्जिनियर कविराज तामाङका अनुसार, सवारी आवगमनले काममा अवरोध हुनेभएपछि वडा कार्यालयसंगको समन्वयमा सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।



काम धमाधम भएमा चालकहरु बाटो बन्द गर्न तयार छन् । एक साईडबाट सवारी गुड्न दिएर निर्माणको काम गर्न उनिहरुले सुझाव दिएपनि साँघुरो सडक संरचनाका कारण असजिलो हुने भएपछि निर्माण कम्पनीले यातायात बन्द गरेर काम सुचारु गरेको हो ।
‘काम धमाधम हुन्छ भने हामी वैकल्पिक बाटो प्रयोग गर्छौ । तर, काम बेलामा सकिनुपर्छ ।’ सवारी चालक सुजन खतिवडाले भन्नुभयो, ‘बाटो लामो समय बन्द भयो । बर्खामास अफ्ठ्यारो बाटोमा ज्यान माया मारेर हिँड्नुपरेको छ ।’
उता निर्माण कम्पनीले भने बेमौषमी बर्षातका कारण काम गर्न नपाएको र सूर्योदयका थुप्रै भेगमा काम भैरहेकाले निर्माण सामाग्री अभावका कारण ढिलाई भएको बताएको छ । माघ महिनाबाट सुरु भएको काम जेठ सकिन लाग्दासम्म सम्पन्न नहुँदा बाटो नबन्ने चिन्ता बोकेका स्थानीय पुनः काम सुचारु भएपछि उत्साहित छन् ।
वडाका सबै गाउँमा जोडिने बाह्रैमास सञ्चालन हुने ‘अल वेदर रोड’ लाई प्राथमिकतामा राखेर स्तरोन्नति सुरु गरेको नगरपालिकाले यतिबेला ती सडक कालोपत्रको चरणमा पु¥याएको हो । यहाँका अधिकांश गाउँमा सडक धमाधम कालोपत्र हुन थालेका छन् ।
सूर्योदय नगरपालिकामा १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्र, ८३ दशमलव आठ किलोमिटर ग्राभेल र ६६८ दशमलव ९३ किलोमिटर माटेबाटो गरी यहाँ ३३३ वटा स्थानीय सडक रहेका छन् । ती सडकलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ मा वर्गीकरण गरिएको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाभित्र स्ट्राटेजिक रोड नेटवर्क (एसआरएन) अन्तर्गतका ठूला तीन सडक छन् । यसमा मेची राजमार्ग, फिक्कल–पशुपतिनगर र छिपिटार–श्रीअन्तु सडकको कालोपत्र ४८ दशमलव २० किलोमिटर, ग्राभल दुई दशमलव ४५ किलोमिटर र माटेबाटो दुई दशमलव ४१ किलोमिटर पर्छ । सूर्योदयमा ‘डिस्ट्रिक्ट रोड केयर नेटवर्क’ (डिआरसिएन) अन्तर्गत १० दशमलव ८३ किलोमिटर कालोपत्र, १६ दशमलव १२ किलोमिटर ग्राभल र ३६ दशमलव ५६ किलोमिटर माटेबाटो रहेका छन् ।
नगरपालिकाले आफ्नो नगरभित्रका सडकलाई १२ महिना सवारीसाधन सञ्चालन गर्ने गरी निर्माण गर्ने योजनाअनुसार चार वर्षअघि नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाएको थियो । गुरुयोजनाअनुसार २८ वर्षमा नगरभित्रका सडक निर्माण भइसक्ने उल्लेख छ ।
सडकको व्यवस्थित र योजनाबद्ध तरिकाले निर्माण गरी जनताको जीवनस्तर सुधार गर्न नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाइएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले एक वडा एक ग्राभेल सडक निर्माणलाई प्राथमिकता दिएपछि सूर्योदयका १४ वटै वडाका एक÷एकवटा सडक ग्राभेल गर्ने काम हुँदै हाल कालोपत्रको चरण आएको सूर्योदय १ का वडाध्यक्ष राजकुमार शेरेङले बताउनुभयो ।
गाउँ–गाउँमा सडक कालोपत्र हुन थालेपछि यहाँका कृषिउपज बजारसम्म पु¥याउन किसानलाई सहज भएको छ । विगतमा भन्दा ग्रामीण क्षेत्रका किसानलाई बजार पुग्न, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न र बिरामीलाई तत्काल अस्पताल पुग्न सजिलो भएको स्थानीयको भनाइ छ । किसानले दुःख गरेर उत्पादन गरेका कृषिउपजले सडक अभावकै कारण बजार नपाउने समस्याको अन्त्य भएको किसान बताउँछन् ।
उपप्रमुख दुर्गाकुमार बरालले बाटो बनाउन मेसिन प्रयोग गरेर काम देखाउने र जनताको आँखामा भ्रम छर्ने परम्परागत तरिकालाई हटाएर दिगो विकासको मोडलमा पालिका अघि बढेको बताउनुभयो ।
नगरपालिकाले जनाएअनुसार नगरक्षेत्रका सडकमा सबैभन्दा बढी दुईपाङ्ग्रे मोटरसाइकल सञ्चालन हुँदै आएका छन् । नगरस्तरीय सडकमा ४५ प्रतिशत मोटरसाइकल, २६ प्रतिशत जिप कार, १७ प्रतिशत ट्र्याक्टर र १२ प्रतिशत ट्रक बस गुड्ने गरेका छन् ।