
मनोज अधिकारी
राष्ट्रिय समाचार समिति(रासस)
इलाम,१५जेठः पर्यटन प्रवर्धन गर्न माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा आज(बिहिबार) बाट थुम्के साहित्य महोत्सव सुरु भएको छ । ‘साहित्यमा पर्यटन र पर्यटनमा साहित्य’ नारा राखेर थुम्के साहित्यिक समूहले आयोजना गरेको दुई दिवसीय महोत्सवमा साहित्यको माध्यमबाट यहाँका पर्यटकीय गन्तब्यको प्रचारप्रसार गरिने आयोजक संस्थाका अध्यक्ष केसबराज पौड्यालले बताउनुभयो ।



‘गाउँपालिकाको सहयोग, हाम्रो आयोजना र अमरकल्याण नमुना मावि नयाँबजारको व्यवस्थापनमा कार्यक्रम सञ्चालन हुँदैछ ।’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘महोत्सवका लागि मदन पुरस्कार विजेता डा.नवराज लम्साल आउनुभएको छ । साथै कार्यक्रममा अन्य पत्रकार, साहित्यकारलगायत स्रष्टाको उपस्थिति हुन्छ ।’
कार्यक्रमअनुसार आज बिहान ७ः३० मा स्थानीय मलुपोखरी भ्रमण गरेपश्चात् १० बजे उद्घाटन गरियो । १०ः३० देखि दिउँसो २ः३० सम्म विद्यालयस्तरीय कविता प्रतियोगिता, गायन, वाद्यवादन र नृत्य सम्पन्न भयो । २ः३० बजेबाट चियाको विषयमा दृश्य–अदृश्य कथा चिया मजदुर, किसान र उद्यमीसँग नेपाल पत्रकार महासंघ, इलामका अध्यक्ष भीम चापागाईंको संवाद थियो ।
आयोजक संस्थाका सचिव नारायण चँदराका अनुसार, भोलि शुक्रबार बिहान ७ बजेबाट ९ सम्म सूर्योदय सिर्जना माइजोगमाईकै पर्यटकीयस्थल थुम्केरानीमा आयोजना गरिनेछ । १० बजेबाट ११ः३० सम्म कला संवाद रहनेछ, जसमा माइजोगमाईको कला, आस्था, अवस्था र सम्भावना विषयमा स्थानीय सरकार र बुद्धिजीवीको संवाद डा.हेम भण्डारीसँग रहने छ ।
११ः३० देखि १२ बजेसम्म सांस्कृतिक नृत्य र वाद्यवादन रहनेछ । १२ बजेबाट १ः३० सम्म पुस्तकवार्ता रहनेछ, जसमा रैथाने सिर्जनाको आकृति नमुना मदर र प्रधानबा कृतिका कृतिकार तथा समीक्षकसँग महेश आचार्यको वार्ता रहनेछ ।
१ः३० देखि २ बजेसम्म पुनः सांस्कृतिक कार्यक्रम रहनेछ । त्यस दिन पनि डा. लम्साल प्रमुख आकर्षण रहनेछन् । दिउँसो २ देखि ३ः३० बजेसम्म उद्योग वाणिज्य संवाद दुग्ध व्यवसाय सम्भावना र चुनौती विषयमा स्थानीय सरकार, व्यवसायी तथा उत्पादकसँग कान्तिपुर दैनिकका उपसम्पादक दीपक सापकोटाको संवाद रहनेछ ।
३ः३० देखि ४ बजेसम्म पुनः सांस्कृतिक कार्यक्रम र ४ बजेदेखि सम्मान कार्यक्रम रहनेछ । ४ः३० देखि समापन कार्यक्रम रहेको आयोजक संस्थाले बताएको छ । माइजोगमाईमा पर्यटनको प्रचुर सम्भावना रहेको र साहित्यमार्फत् पर्यटनको प्रचार गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताउनुभयो ।
तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ । माईजोगमाई–३ स्थित तुम्लिङसहित नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र माईजोगमाईका पर्यटकीय केन्द्र हुन् । हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत, भुटान, बङ्गलादेशलगायतका मुलुकबाट यहाँ पर्यटक आउने गरेका छन् ।
जैविक विविधताले भरिएको माइजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवद्र्धनको काम सुरु गरेको छ । पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न ‘टुरिज्म एप्स’ सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थेबेले बताउनुभयो ।