इलामः इलाम सदरमुकामका पर्यटकीय स्थलहरू अहिले सफा, सुन्दर र व्यवस्थित देखिन थालेका छन्। ९१ हप्ताअघि सन्दकपुर गाउँपालिका–३ का विष्णु खतिवडाको नेतृत्वमा इन्डिपेन्डेन्ट युथ ग्रुपले सुरु गरेको सरसफाइ अभियानले इलामको पर्यटकीय क्षेत्रलाई फोहोरमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
विगत वर्षहरूमा अव्यवस्थित फोहोरले ढाकेका यी पर्यटकीय स्थलहरूमा अहिले फोहोर भेटिन छाडेको छ। उक्त अभियानमा हरेक साताको शनिबार २० देखि ५० जनासम्मको सहभागिता रहने गर्छ। सरसफाइ पश्चात संकलित फोहोर नगरपालिकाको गाडीमार्फत व्यवस्थापन गरिन्छ।



अहिले स्वतन्त्र नागरिक समूह र चाम्लिङ भ्लकका युवाहरूले पनि सरसफाइमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। यसले समुदायमा सफाइप्रतिको चेतना र संस्कार बढाएको अभियन्ता खतिवडाको भनाइ छ।

इलाम घुम्न आएका पर्यटक रोशन राईले भन्नुभयो, “पोहोर साल जथाभावी फोहोर देखिन्थ्यो, अहिले भने सफा र स्वच्छ इलाम देख्दा निकै खुशी लाग्यो।” अभियानले इलामको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारिरहेको छ ।



