
इलामः सूर्योदय नगरपालिका वडा नं ५ मा बालबालिकाको सशक्तिकरण र सृजनात्मक अभिव्यक्तिको प्रवर्द्धनका लागि बाल भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सन्चार मल्टिटेक्निकल मिडिया प्रालिको आयोजना तथा वडाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले सहभागि बालबालिकासँग अन्तरक्रिया तथा अभ्यास गराएका थिए।
कार्यक्रममा योग साधनासम्बन्धी प्रशिक्षण योगाचार्य मानार्थ डा. मणिराज डाँगी, योगाचार्य किशोर ताम्राकार, सरोज कुमार कार्कीले ले दिनुभएको थियो। उहाँले योग र ध्यानमार्फत बालबालिकामा आत्मअनुशासन, मानसिक सन्तुलन र स्वास्थ्य चेतना विकासमा विशेष जोड दिनुभयो। मानसिक स्वास्थ्य सत्रमा परामर्शदाता बालमैत्री संवादमार्फत आत्मबल अभिवृद्धि, आन्तरिक द्वन्द्व समाधान र सकारात्मक सोचको महत्त्वबारे जानकारी दिनुभयो ।



कार्यक्रममा समालबुङ माध्यमिक विद्यालय, गोरख आदर्श बोर्डिङ स्कुल, विद्या मन्दिर बोर्डिङ स्कुल र गोल्डेन हेभन एकेडेमीका करिब १०० जना बालबालिकाको सहभागिता रहेको थियो।
स्थानीय अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा बालबालिकाको उत्साहजनक सहभागितामा सम्पन्न कार्यक्रममा बालअधिकार, सामाजिक उत्तरदायित्व र सिर्जनात्मकताको प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको सन्देश दिइएको वडाध्यक्ष उर्गेन बम्जनले बताउनुभयो ।