
इलाम– इलामका सडकहरूमा सार्वजनिक सवारी साधन गुडाउने चालक र व्यवसायीले ट्राफिक प्रहरीहरूले मासिक रूपमा रकम असुल्ने गरेको गुनासो गरेका छन् ।
ट्राफिक प्रहरीले मेची राजमार्गसहित विभिन्न सडकमा बसेर चेकजाँच गर्नेक्रममा मासिक रूपमा समेत अवैध असुली गर्नेगरेको व्यवसायीको आरोप छ ।



कसैलाई पोल लगाए आफूलाई नै पुनः ‘तार्गेट’ गर्ने त्रासले प्रायः चालक र व्यवसायीले यो समस्या व्यक्त गर्न सकिरहेका छैनन् । तर, नाम नबताउने सर्तमा उनीहरूले आफूहरूबाट मासिक रूपमा पाँच सय रुपैयाँदेखि तीन हजारसम्म असुल्ने, नत्र हरेकखाले दुःख दिनेगरेको बताएका छन् ।
व्यवसायी र चालकका अनुसार मेची राजमार्गको झापादेखि इलाम बजारसम्म छ ठाउँमा ट्राफिक चेकिङ हुन्छ । सबै ठाउँमा मासिक रूपमा सबै सवारी साधनबाट रकम असुल्ने गरिएको छ । ‘ट्राफिक प्रहरीले खातामै गाडीको नम्बर लेखेर बसेका हुन्छन्,’ एक चालक भन्छन्, ‘कुन गाडीले बुझायो, कुनले बुझाएन भन्ने लिखित रूपमै राखेपछि कोही छुट्न पाउँदैन ।’ मेची राजमार्गकै इलाम–राँके खण्डमा पनि यही प्रचलन छ । गाउँमा चल्ने सवारी साधनबाटसमेत यसरी रकम असुली हुनेगरेको व्यवसायीको भनाइ छ ।ुचाडबाडका बेला त झन् एउटै गाडीले हजारदेखि २ हजार बुझाउनुपर्छ,ु अर्का चालकले सुनाए, ुएकै दिन एउटै गाडीले धेरै ठाउँमा अरुबेलाभन्दा बढी रकम बुझाउनुपर्छ ।ु
तर, ट्राफिक प्रहरीको यो व्यवहारबाट सवारी साधनले समेत फाइदा नलिएका भने होइनन् । उनीहरूले ट्राफिक प्रहरीलाई मासिक बुझाएवापत् सवारी साधनमा छत जोड्न ‘छुट’ छ । त्यतिमात्र होइन, सिट क्षमताभन्दा बढी यात्रु राख्दा प्रहरीले देखेको नदेख्यै गरिदिन्छ ।
‘मासिक रूपमा प्रहरीको चित्त बुझाउनेलाई खास समस्या छैन,’ अर्का चालकले सुनाए, ‘नबुझाउनेलाई प्रहरीले बढी निगरानी गर्छ, व्यवसायी र चालकमा पनि एक्लो भइएलाजस्तो हुन्छ, झमेला धेरै दिन्छन् ।’
इलाम सदरमुकामबाट पश्चिम जाने सवारी साधनधनीले तीन ठाउँमा पाँच–पाँच सयले यस्तो मासिक रकम बुझाउनुपरेको सुनाएका छन् । यो खण्डका विभिन्न चेक पोस्टमा सवारी साधनबाट मासिक रकम उठाउन ट्राफिक प्रहरीका जवानलाई नै ‘तोकिएको’ प्रहरीभित्रकै गोप्य स्रोत बताउँछ । र, यसरी रकम उठाउनेहरूले आफूले ‘माथिका’लाई पनि दिनुपर्ने भएकाले रकम उठाएको जबाफ फर्काउनेगरेका छन् ।
‘जिल्लादेखि प्रदेशसम्म ९माथिका मान्छे०लाई ३० हजारदेखि उँभो हरेक महिना रकम बुझाउनुपर्छ,’ प्रहरी स्रोतको दाबी छ, ‘इलाम बजार आसपासका चेक पोइन्टहरूमा मात्रै मासिक तीन लाख रुपैयाँसम्म खर्च उठाउने तार्गेट दिइएको हुन्छ ।’
जिल्ला ट्राफिक प्रहरी प्रमुख सई लीलानाथ नेउपानेले सवारी साधनबाट मासिक रूपमा रकम नउठाएको दाबी गरे । कागजपत्र सही रूपमा छ भने सवारी साधनबाट रकम उठाउन नमिल्ने भन्दै उनले कसैले त्यसरी रकम उठाएको उजुरी आए छानबिन र कारबाही गर्ने बताए ।
‘अहिले म जिल्लाबाहिर छु । इलाम आएर कुरा बुझ्छु, दोषी देखिए कारबाहीप्रक्रियामा जान्छु,’ उनले भने, ‘नियममा सवारी साधन चलेको छ कि छैन चेकजाँचमा हेरिन्छ । नियमअनुसार नभएको पाइए राजस्व रसिद काटिन्छ, अरू कुनैखाले रकम असुल्न पाइँदैन ।’