
काठमाण्डौ— विश्व रक्तदान दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिको आयोजनामा देशका विभिन्न चार स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कूल २२१ जनाले रक्तदान गरेका छन्।
दाङमा ८० पिन्ट, काठमाडौंमा ६१ पिन्ट, उदयपुरमा ६१ पिन्ट र सुर्खेतमा १९ पिन्ट गरी जम्मा २२१ पिन्ट रगत संकलन गरिएको समितिले जानकारी दिएको छ।



कार्यक्रमका बारेमा समितिकी केन्द्र प्रमुख चमेली वाइजीले भन्नुभयो, “विज्ञानले धेरै आविष्कार गरे पनि रगतको विकल्प अझै फेला परेको छैन। रगतको माग पुरा गर्ने एक मात्र माध्यम स्वयं रक्तदान भएकाले हामीले यस्ता कार्यक्रम निरन्तर गर्दै आएका छौं।”
उहाँले रक्तदानलाई सबैभन्दा ठूलो दानको रूपमा व्याख्या गर्दै भन्नुभयो, “दान मध्यको सबैभन्दा ठूलो दान रक्तदान नै हो।”
नेपाल मानव धर्म सेवा समिति एक आध्यात्मिक र सामाजिक संस्था हो, जसले समाज सेवाका विविध क्षेत्रहरूमा योगदान दिँदै आएको छ। समिति विश्व रक्तदान दिवसजस्ता महत्वपूर्ण अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको छ।
जुन १४ तारिखलाई विश्वभर रक्तदान दिवसको रूपमा मनाइन्छ, जसको उद्देश्य नियमित रक्तदानदाताहरूको योगदानलाई सम्मान गर्नुका साथै नयाँ रक्तदाता उत्प्रेरित गर्नु हो।