
सन्देश खड्का, गोर्खेः सूर्योदय नगरपालिका–१ का दलित समुदायका महिलाहरूलाई लक्षित गरी एक महिने ब्यूटी पार्लर तालिम सम्पन्न भएको छ। आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यसहित प्रदान गरिएको तालिमबाट सहभागी महिलाहरूले प्राप्त सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।
वडाको आर्थिक सहयोगमा सञ्चार मल्टिटेक्निकल मिडिया प्रा।लि।ले आयोजना गरेको तालिम जेठ २ गतेदेखि असार ३ गतेसम्म सञ्चालन गरिएको थियो। तालिमको प्रशिक्षण सरु ब्यूटी पार्लर फिक्कलकी प्रोफेसनल प्रशिक्षक सरु गदालले दिनुभएको थियो।



वडाध्यक्ष राजकुमार शेरेङले लक्षित समुदायका महिलालाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले महिलाहरूले आफ्नै सीपमा आधारित व्यवसाय सुरू गरेर आर्थिक रूपमा सक्षम बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। वडाका सचिव गोविन्द चेम्जोङले पनि तालिमले महिलाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको बताउनुभयो।
तालिम समापन कार्यक्रम वडाध्यक्ष शेरेङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडासदस्यहरू डिकबहादुर मगर, मुन्नाकुमारी राई, रोशन बुढाथोकी, चन्द्रकला विश्वकर्मा तथा दलित उत्थान समिति गोर्खेकी सचिव लिला बर्देवा आतिथ्य रूपमा सहभागी हुनुहुन्थ्यो।
सहभागी महिलाहरूले तालिमबाट सिकेको सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्दै स्वरोजगारको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।