
इलामः सूर्योदय नगरपालिकामा २०८१ साल चैत ३ गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय परिचयपत्र दर्ता स्टेसनमार्फत हालसम्म १ हजार ६ सय ७१ जनाले सेवा प्राप्त गरेका छन्।
नगरपालिकाको तथ्याङ्कअनुसार, सो अवधिमा सूर्योदय नगरपालिका क्षेत्रभित्रका १ हजार ४ सय ७८ जना तथा अन्य स्थानीय तहबाट आएका १ सय ९३ जनाले सेवा लिएका छन्। सेवा लिनेमा महिला ८२३ जना र पुरुष ८४८ जना रहेका छन्।



सूर्योदय नगरपालिकाले स्थायी तथा अस्थायी बासिन्दालाई लक्षित गरी परिचयपत्र दर्ता तथा वितरणको कार्य निरन्तर गर्दै आएको छ। नगरप्रमुख रणबहादुर राईले सेवा प्रभावकारी तथा व्यवस्थित बनाउन विशेष ध्यान दिइएको जनाएका छन्।
स्थानीय सेवाग्राहीहरूले सरल प्रक्रियाबाट सेवा पाएको अनुभव सुनाउँदै यस प्रकारको सेवा विस्तारले नागरिकहरूलाई धेरै सहज भएको प्रतिक्रिया दिएका छन्।
नगरपालिकाले अझै धेरै नागरिकलाई सेवा दिने लक्ष्यसहित परिचयपत्र दर्ता स्टेसनको कार्यलाई निरन्तरता दिने जनाएको छ ।