अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८२ असार ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, असार ७ः नेपाल मानव धर्म सेवा समितिको आयोजनामा ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भन्ने मूल नाराका साथ देशभर ११औँ अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ सम्पन्न भएको छ। समितिका विभिन्न क्षेत्रीय तथा शाखा आश्रमहरूमार्फत देशका १५ स्थानमा आयोजित योग तथा साधना शिविरमा झन्डै दुई हजारभन्दा बढी साधकहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।

समारोहको नेतृत्व समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले गरेकी थिइन्। उनले योगलाई केवल एक दिनको पर्व नभई दैनिक जीवनशैलीमा आत्मसात् गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। “योगले शरीर मात्र होइन, मनलाई पनि शुद्ध बनाउँछ। त्यसैले योगलाई अवसर होइन, बानी बनाउनु जरुरी छ,” वाइजीले स्पष्ट पारिन्।

कार्यक्रमका योग प्रशिक्षक पुरुषोत्तम कोइरालाले नियमित योग अभ्यासले मानसिक तनाव कम गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्य खर्चमा कटौती गर्ने उल्लेख गरे। “नियमित योग गर्ने व्यक्तिहरू सामान्य स्वास्थ्य समस्याका कारण हत्तपत्त अस्पताल जानुपर्दैन,” उनले भने।

कार्यक्रममा वैदिककालदेखि चलिआएको योग परम्परालाई स्मरण गर्दै ऋषिमुनिहरूको दीर्घ जीवनको रहस्य नै योग भएको चर्चा गरियो। सहभागीहरूलाई विभिन्न योगासन, प्राणायाम र ध्यानका विधिहरू अभ्यास गराइयो।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको पहलमा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरिएपछि हरेक वर्ष यो दिन विश्वभर विविध कार्यक्रमका साथ मनाउने गरिन्छ। नेपालमा पनि पछिल्लो समय योगप्रति जनचेतना र सहभागिता उल्लेखनीय रूपमा वृद्धि हुँदै आएको छ।

यस वर्षको कार्यक्रमले समाजमा शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यको सन्देश प्रभावकारी ढंगले प्रवाह गर्न सफल भएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय