
योगेन्द्र शंखर, इलामः इलाम सदरमुकाममा रहेको भगवती माध्यमिक विद्यालयलका पूर्वविद्यार्थीले आफूले पढेको विद्यालयलाई २५ थान फ्यान (पंखा) प्रदान गरेका छन् ।
पूर्वविद्यार्थीले विद्यालयलाई करिब ६१ हजार रुपैयाँ बराबरका २० सिलिङ फ्यान र पाँच वाल फ्यान प्रदान गरेको पूर्वविद्यार्थी शैलेन्द्र खुलालले जानकारी दिए । आफूले अध्ययन गरेको विद्यालयलाई केही न केही सहयोग गरौं भन्ने उद्देश्यले देश–विदेशमा रहेका साथीहरूसँग सल्लाह गरेर रकम जम्मा गरी फ्यान खरिद गरेर हस्तान्तरण गरेको खुलालले बताए ।



पूर्वविद्यार्थीले गरेको योगदानको कदर गर्दै विद्यालयले पूर्वविद्यार्थीका लागि सम्मान तथा धन्यवाद ज्ञापन गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकको उपस्थिति थियो ।
त्यही अवसरमा शैलेन्द्र खुलालको अध्यक्षतामा सात सदस्यीय पूर्वविद्यार्थी मञ्चसमेत गठन गरिएको छ ।
कार्यक्रमलाई अझै आकर्षक बनाउन विद्यार्थीबीच गायन तथा नृत्य प्रतियोगितासमेत आयोजना गरिएको थियो । विद्यालय परिवारले पूर्वविद्यार्थीको सहयोग र सक्रिय सहभागिताप्रति आभार प्रकट गर्दै भविष्यमा पनि विद्यालयको शैक्षिक, सांस्कृतिक र भौतिक विकासमा सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेको छ ।