इलामः कात्तिक १२ देखि निरन्तर परिरहेको पानीले मेची क्षेत्रको ‘लाइफ लाइन’ मेची राजमार्गमा फेरि क्षति भएको छ । इलाम नगरपालिका ९, राजदुवालीको मेची राजमार्ग खण्डमा अस्ति झरेको पहिरो दबिएका कारण सवारी चलाउन सकस भइरहेको छ ।
राजमार्गमा शुक्रबार बिहानैदेखि सवारी सञ्चालन गर्ने अवस्था नभएपछि स्थानीय प्रशासनले यहाँ बिहानैदेखि सवारी आउ–जाउ बन्द गराएको थियो । राजमार्गको यो खण्ड मर्मत गरिएपछि दिउँसोबाट साँझसम्म साना सवारीका साधनलाई खुला गरिएको थियो । ‘विशेषगरी शनिबार लोकसेवा आयोगको परीक्षा दिने विद्यार्थी सदरमुकाम आउने भएकाले उनीहरूका लागि र अत्यावश्यक सवारी साधनका लागि राजमार्ग साँझसम्मलाई खुलाइएको थियो,’ सिडिओ सुनिता नेपालले भनिन् ।



बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्म पनि मेची राजमार्गमा सवारी चलाउन रोक लगाइएको थियो । ‘राजदुवालीको पहिरोकै कारण जोखिम भएपछि रोक लगाइएकामा बिहान पुनः सडकको सतह भासिएका कारण सवारी चलाउन नसक्ने अवस्था छ,’ उनले भनिन्, ‘आज पनि राति गाडी चलाउन जोखिम छ, अवस्था हेरेर अर्को सूचना गर्नेछौं ।’
प्रशासनले राजदुवालीको विकल्पका रूपमा खुलेको सिमलगोलाई–जोगमाई–तिल्केनी सडकमा पनि शुक्रबार बिहानदेखि सवारी सञ्चालनमा रोक लगाएको छ । जोगमाई खोलामा अस्ति भर्खरै हालिएको डाइभर्सन बाढीले क्षति गरेपछि यहाँबाट पनि सवारी सञ्चालन हुन सकेका छैनन् । मेची राजगमार्गसहित वैकल्पिक सडकसमेत बन्द भएपछि इलाममा सहज यातायात छैन ।
इलाम–झापा फास्ट ट्र्याक ९केचना–कञ्चनजंघा मार्ग०को माइखोलास्थित बेलासे पुल बाढीले बीचमै भाँचिएपनि मर्मत भएको छैन । अस्थायी डाइभर्सनसमेत नबनाउँदा सवारी अवरोध छ । यही सडकको पुवाखोलामा रहेको अर्को नयाँ बेली ब्रिजसमेत बाढीले बगाएको थियो । यहाँ काठको साँघु हालेर मोटरसाइकलसम्म वारपार भइरहेका छन् । तर, यो सडकमा पनि ठूला सवारी चलाउने अवस्था नहुँदा इलाम, पाँचथर र ताप्लेजुङमा मालबाहक गाडी पास हुन सकेका छैनन् ।
राजदुवालीको सडक पटक–पटक मर्मत गर्दा पनि अडिएको छैन । गतवर्षको असोजमा पनि यही ठाउँमा पहिरो गइ करिब २ साता सवारी अवरोध भएको थियो । अहिले पनि यो क्षेत्रमा धाँजा फाटेर सडक भासिँदैछ । सवारीका साधन चलाउन जोखिम भइरहेको छ । डिभिजन सडक कार्यालयले बेला–बेला मर्मत गर्दै भएपनि सवारीका साधन चलिरहेका छन् ।
तर, पानी पर्नेबित्तिकै पुनः यहाँ थप जोखिम बढ्ने समस्या पटक–पटक छ । ‘अहिले यही खण्डलाई मर्मत गर्दामात्रै सकेसम्म छिटो सवारी चालु गर्न सकिने अवस्था छ,’ सडक डिभिजन प्रमुख पवन भट्टराई भन्छन्, ‘जोगमाईको डाइभर्सन चालु गर्न र बेलासेमा पनि डाइभर्सन हालेर अहिल्यै सवारी चलाउनभन्दा राजदुवाली मर्मत गर्दा नै छिटो चाहिँ हुन्छ ।’ उनले जिल्लाबासीले पटक–पटक राजदुवालीको विकल्प खोज्न भनिरहेको र डिभिजनले पनि त्यसैअनुसार विभागमा रिपोटिङ गरेको जनाए ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रपात ‘मोन्था’का कारण इलामसहित कोशी प्रदेशका विभिन्न जिल्लाको मौसम प्रभावित हुने यसअघि नै सूचना जारी गरी जनाएका थिए । यसै सूचनाका आधारमा गत असोजसमेतको घटनालाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद गुरागाईंले बताए ।
गत असोज १८ र १९ को बाढी–पहिरोले इलाममा ३९ जनाको मृत्यु भएको थियो । ठूलो धनजनको क्षतिपछि इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा गरिएको छ । संघीय सरकारले गरेको यो घोषणा ‘घोषणामै सीमित’ भएको भन्दै स्थानीयले गुनासो गरिरहेका छन् ।
असोज १८ को वर्षाले मेची राजमार्गको राजदुवाली, मिलगोलाई, बञ्चरेगोलाईलगायत दर्जनौं ठाउँमा पहिरो झरेका थिए । पहिरो सोरसार गरी ती ठाउँमा एकतर्फी रूपमा सवारी सञ्चालनसम्म गरिएको छ । राजदुवाली खण्डमा चाहिँ मर्मत प्रभावकारी नहुँदा असोज ३१ देखिमात्रै एकतर्फी सवारी चल्ने बनाइएको थियो ।
पछिल्लो झरीले इलाममा के कति क्षति गरेको छ भन्नेबारे यकिन विवरण संकलन भइसकेको छैन । तर, निरन्तर परिरहेको झरीका कारण पाकेको बाली नै धेरै क्षति भएको सूचना आइरहेका छन् । विवरण संकलन भइरहेको प्रकाशनले जनाएको छ । from palikapage.com

