सूर्योदयमा ४७ परिवारलाई आवास राहत, सडक मर्मतका काम तीव्र

द्वारा प्रकाशित गरिएको हो |
२०८२ मंसिर २, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः असोज १८ गतेको बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोले सूर्योदय नगरपालिकामा परेको क्षति मूल्यांकन तथा पुनःनिर्माणबारे छलफल गर्न नगरस्तरीय विपद् व्यवस्थापन समितिको छैटौँ बैठक सम्पन्न भएको छ ।

नगर प्रमुख रणबहादुर राईका अनुसार विपद्बाट ५३ परिवार विस्थापित भएपनि कागजात अभाव र राहत नचाहने तीन–तीन परिवारका कारण ४७ परिवारलाई मात्र अस्थायी आवासका लागि दुई किस्तामा ५० हजार रुपैयाँ वितरण गरिएको हो ।

स्थायी घर निर्माणमा स्थानीय सरकारको २० प्रतिशत र प्रदेश तथा संघ सरकारको ८० प्रतिशत योगदान रहनेछ । पूर्ण क्षति भएकाहरूले ४ लाख रुपैयाँ पाउनेछन् ।

नगरपालिकाले अहिलेसम्म २८ लाख ७२ हजार ३९६ रुपैयाँ मर्मत–सम्भारमा खर्च गरेको छ । बाढी–पहिरोले सबै वडाका अल–वेदर सडक र ग्रामीण कच्ची सडकमा ठूलो क्षति पु¥याएको बैठकमा प्रस्तुत गरिएको छ ।

एकैपटक सबै सडक पुनःनिर्माण गर्न कठिन भएकाले आवश्यकता अनुसार क्रमिक रूपमा मर्मत गर्ने निर्णय गरिएको छ । पालिकामा एक मात्र डोजर भएकाले अतिरिक्त डोजर भाडामा लिएर सडक मर्मत अघि बढाइनेछ ।

प्रदेश र संघीय सरकारको बजेटमा बनेका संरचनाको पुनःनिर्माण दायित्व ती निकायकै भए पनि नागरिकको अपेक्षा स्थानीय सरकारप्रति हुने भएकाले मर्मत–सम्भार स्थानीय तहले नै अगाडि बढाउनुपर्ने सरोकारवालाहरूले बैठकमा सुझाव दिएका छन् ।

नगर उपप्रमुख दर्गाकुमार बरालले स्थानीय सरकारको बजेट सीमित हुने उल्लेख गर्दै प्रदेश र संघले आफ्नो दायित्वअनुसार काम गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार राई, प्रहरीका डीएसपी, विषयगत समितिका प्रमुख, पत्रकार, कर्मचारी र सरोकारवालाहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय