नम्र सुहाङको भद्र आचरण

द्वारा प्रकाशित गरिएको हो |
२०८२ फाल्गुन १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
१५फागुन,इलामः घरदैलो अभियानको भीडबीच एक वृद्धसँग भेट हुँदा उनी अचानक रोकिए । मुस्कानसहित शिर निहुराए, दुवै हात जोडेर ढोगे र केही क्षण संवादमा बिताए । चुनावी दौडधुपको चापबीच पनि देखिएको यही सरल संस्कारले सुहाङ नेम्वाङलाई इलामका गाउँमा फरक रूपमा चिनाउन थालेको छ ।

‘आफ्नै उमेर समूहसँग सहज हात मिलाउने तर ज्येष्ठप्रति विनम्रता र सम्मान देखाउने उनको व्यवहारले आधुनिकतामा रमाउँदै गएको नयाँ पुस्तामाझ परम्परागत मूल्य सम्झाउने गत्तिलो उदाहरण सिकाउँदैछ ।’ स्थानीय ठाकुर श्रेष्ठले भने, ‘सुहाङ संस्कार बोकेको युवा नेतृत्वका रूपमा मतदातासामु चिनिँदै छन् ।’

इलाम क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा(एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विरासत, युवा ऊर्जा र विकासमुखी एजेन्डासहित चुनावी मैदानमा छन् । पूर्वसभामुख स्व. सुवास नेम्वाङका छोरा सुहाङ दोस्रो पटक इलाम–२ बाट प्रतिनिधिसभाको दौडमा छन् ।

२०४६ फागुन ६ गते काठमाडौंमा जन्मिएका ३६ वर्षीय नेम्वाङ २०८१ वैशाख १५ मा सम्पन्न उपनिर्वाचनबाट पहिलो पटक सांसद निर्वाचित भए । सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा भएको उक्त निर्वाचनमा उनले २७ हजार ७७२ मत प्राप्त गर्दै कांग्रेसका प्रतिद्वन्द्वी डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गरे । तर प्रतिनिधिसभा विघटन भएपछि उनी करिब १६ महिना मात्र संसदमा रहे ।

यसपटकको निर्वाचनमा एमालेले पुनः उनलाई उम्मेदवार बनाएको छ । गत मंसिरमा सम्पन्न एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट ९१ हजार ७२१ मत ल्याएर उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ‘इलाम क्षेत्र नं २ को विकासलाई केन्द्रमा राख्दै कृषिको आधुनिकीकरण, उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य र खानेपानी सुधार हाम्रो मुख्य एजेन्डा हो ।’ उनले भने, ‘प्राकृतिक विपद्पछिको पुनर्निर्माण र पूर्वाधार सुदृढीकरणमा समेत काम गर्नु छ ।’

गत असोजमा आएको बाढी–पहिरोमा ३९ जनाको ज्यान गएको र ११ पुलमा क्षति पुगेको घटनापछि प्रभावित परिवारसम्म पुगेर सहयोग र सहानुभूति प्रकट गरेको प्रसंग स्थानीयले स्मरण गर्ने गरेका छन् । बुवाको राजनीतिक विरासत र उपनिर्वाचनमा प्राप्त जित उनको प्रमुख बल मानिन्छ । युवामाझ लोकप्रिय, सौम्य र प्रतिस्पर्धीलाई सम्मान गर्ने स्वभावले उनलाई सकारात्मक छवि दिएको छ ।

कानून विषयमा बीए एलएलबी अध्ययन गरेका नेम्वाङले ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’मार्फत वकालत अभ्यास गरेका छन् । राजनीतिमा आउनुअघि खेलकुदमा रुचि राख्ने उनी नेतृत्वमा रहेको स्पोर्टिङ इलाम डे मेचीले नेपाल सुपर लिगमा सहभागिता जनाएको थियो ।

इलाम–२ मा उनका मुख्य प्रतिस्पर्धीहरूमा नेपाली कांग्रेसका भेषराज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई र श्रम संस्कृति पार्टीका सुदीप राई रहेका छन् । विरासतको निरन्तरता, युवा नेतृत्वको दाबी र विकासमुखी कार्यक्रमसहित सुहाङ नेम्वाङ पुनः संसद् यात्रा दोहो¥याउने लक्ष्यमा छन् । इलाम–२ मा यसपटकको निर्वाचन युवा ऊर्जा र राजनीतिक परम्पराबीचको रोचक प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय