इलाम–२ः कसको पल्ला भारी?

द्वारा प्रकाशित गरिएको हो |
२०८२ फाल्गुन १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
१६फागुन,इलामः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी इलाम क्षेत्र नं २ मा मुख्य दुई दलको चर्चा धेरै छ । कुल एक लाख १९ हजार ४८९ मतदाता रहेको यस क्षेत्रमा १४ जना उम्मेद्वार भएपनि नेकपा(एमाले)का सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका भेषराज आचार्य बिच मुख्य प्रतिस्पर्धा हुने मतदाताहरु बताउँछन् ।

‘मतदाताको उत्साह, प्रचार–प्रसार र संगठनका हिसाबले हेर्दा इलामको निर्वाचन क्षेत्र नं २ मा एमाले–काँग्रेसबिच नै प्रतिस्पर्धा हुने देखिन्छ ।’ मतदाता भीम विशुंखेले भन्नुभयो, ‘यस पटकको प्रतिष्पर्धा रोचक छ–एकातिर एमालेको ‘विरासत’ जोगाउने चुनौतीमा ३६ वर्षीय सुहाङ नेम्बाङ हुनुहुन्छ भने अर्कोतिर चार दशकको ‘निष्ठा र अनुभव’ बोकेका ६१ वर्षीय भेषराज आचार्य हुनुहुन्छ ।’

२०८१ को उपनिर्वाचनमा एमाले उम्मेद्वार नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गर्दै कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० (२१,९४२) मतान्तरले पराजित गर्नुभएको थियो । २०७९ सालको निर्वाचनमा स्व. सुवास नेम्बाङले ३० हजार २० मतसहित विजयी बन्दा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको थियो । त्यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पूर्व सभामुख नेम्बाङ नै विजयी बन्नुभएको थियो । उहाँले ३६ हजार पाँच सय १७ मत प्राप्त गर्दा कांग्रेसका केशव थापाको २६ हजार आठ सय ६५ मत आएको थियो ।

सुहाङ नेम्वाङ
२०४६ फागुन ६ गते काठमाडौंमा जन्मिनुभएका ३६ वर्षीय नेम्वाङ २०८१ वैशाख १५ मा सम्पन्न उपनिर्वाचनबाट पहिलो पटक सांसद निर्वाचित हुनुभएको थियो । तर प्रतिनिधिसभा विघटन भएपछि उहाँ करिब १६ महिना मात्र संसदमा रहनुभयो । यसपटकको निर्वाचनमा एमालेले पुनः उहाँलाई उम्मेदवार बनाएको छ । गत मंसिरमा सम्पन्न एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट ९१ हजार ७२१ मत ल्याएर उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । कानून विषयमा बीए एलएलबी अध्ययन गर्नुभएका नेम्वाङले ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’मार्फत वकालत अभ्यास गर्नुभएको छ । विरासतको निरन्तरता, युवा नेतृत्वको दाबी र विकासमुखी कार्यक्रमसहित सुहाङ नेम्वाङ पुनः संसद् यात्रा दोहो¥याउने लक्ष्यमा हुनुहुन्छ । इलाम–२ मा यसपटकको निर्वाचन युवा ऊर्जा र राजनीतिक परम्पराबीचको रोचक प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

भेषराज आचार्य
१५ साउन २०२१ मा इलाम नगरपालिका–११ डिहिटारमा जन्मिनु भएका भेषराज आचार्यले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको छ । आचार्य २०३५ सालमै आदर्श माध्यमिक विद्यालय, इलामको नेपाल विद्यार्थी संघ अध्यक्ष बन्नुभयो । त्यसको एक वर्षपछि २०३६ मा उहाँ विद्यार्थी युनियन अध्यक्षका उम्मेदवार बन्नुभयो । आचार्य २०४२, २०४८ र २०५२ सालमा नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित २०४९ सालमा जिल्ला विकास समितिमा नेपाली कांग्रेसको तर्फबाट सदस्य निर्वाचित, २०५१ सालमा जिल्ला विकास समिति महासंघका संस्थापक केन्द्रीय सदस्य, २०५५ सालमा जिल्ला सहसचिव, २०५६ मा मनोनित क्षेत्रीय सभापति र २०५७ मा निर्वाचित क्षेत्रीय सभापति बन्नुभयो । पार्टीको आठौं महाधिवेशनदेखि हालसम्मका सबै महाधिवेशनमा उहाँ महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यका रूपमा सहभागी हुँदै आउँनुभएको छ । २०७८ सालमा जिल्ला सभापतिको उम्मेदवार बनेर ४६ प्रतिशत मत प्राप्त गरे पनि पराजित हुनुभएको थियो । २०७० सालको संविधानसभा निर्वाचनमा इलाम–२ बाट उम्मेदवार बन्नुभएका आचार्य नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित हुनुपर्यो ।

यस पटक आचार्य र नेम्बाङसहित नेकपाका ओम गुरुङ, रास्वपाका गोकुल राई, राप्रपाका गणेश दुलाल, श्रम संस्कृति पार्टीका सुदीप राई लगायत १४ जना चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय