इलामः इलाम क्षेत्र नं १ को मतगणना ढिलाई भएको गुनासो आएपछि गणना तीव्र बनाउन सर्वदलीय बैठक बसिरहेको छ । मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले यस क्षेत्रको गणना ढिलो भएकाले निर्वाचन आयोगले हतार लगाएको भन्दै दलहरुसँग छलफल गरिरहनुभएको हो ।
मतगणना सुरु हुनुअघि यस क्षेत्रका १३ दलले प्रत्यक्ष र समानुपातिक मतपत्रको गणना एकैपटक लैजान अडान लिईएका थिए । निर्वाचन अधिकृत खुम प्रसाद भण्डारीले एकैपटक गणना गर्न नसकिने बताएपछि सहमती जुटेको थिएन । अन्ततः प्रत्यक्ष तर्फको सुरुमा गणना गर्ने सहमतीमा ढिलो गरी गणना सुरु भयो ।



२९ हजार ७२८ महिला र ३४ हजार ३७६ पुरुष मतदाताले मतदान गरेको यस क्षेत्रमा हालसम्म ३१ हजार ७ सय ३४ मात्र मतगणना सकिएको छ । एक केन्द्रको एकपटक मात्र गणना भईरहेपछि गणना ढिलाई भएको हो । एक पटकमा एउटा वडाको मतगणना गर्न सके केही छिटो हने क्षेत्र नं १ का निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले बताउनुभयो ।
गणनास्थल साँघुरो भएकाले दुई ठाउँमा गणना गर्न नसकिने बताउँदै दलहरुले अहिले जुन तरिकाले गणना भईरहेको छ अब पनि त्यसरी नै गनिनुपर्ने बताए। तर, यही तरिकाको गणना भईरहे प्रत्यक्ष तर्फको परिणाम आउन अझै तीन दिन लाग्ने अनुमान छ ।

