
२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।
गएराति सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् ।



गाई फार्ममा ६ जना कामदार थिए । एकजना भुसभित्र लुकेको अवस्थामा फेला परेको र उनी अचेत रहेकाले उपचारका लागि अस्पताल पुर्याइएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको एसपी थापाले बताए ।
घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झपेन्द्र सिजापतीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी थापाले पनि अनलाइनखबरसँग कुरा गर्दै एक जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । यद्यपि, उनले पक्राउ परेका व्यक्तिको परिचय खुलाएनन् ।
स्रोतका अनुसार सिजापती लागू औषध दुर्व्यसनी हुन् । थप अनुसन्धान भइरहेको थापाले बताए ।
स्रोत: अनलाइनखबर