
२७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता छविलाल विश्वकर्माले रुपन्देहीमा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘यो हत्याको निष्पक्ष छानबिन होस् । अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था होस् । छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन माग गर्दछु ।’



सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो । स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताए ।
उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् । प्रहरीका अनुसार रुपन्देहीमा भएको हत्याकाण्डमा संलग्नको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेका छन् ।
नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिञ्जालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।