२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले १० अर्ब रुपैयाँको हिसाबकिताब किन नदेखाएकाे भनि प्रश्न गरेका छन ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले २५ हजार जम्मा किट किनेर १० अर्ब रुपैयाँको हिसाबकिताब देखाउनुपर्दैन ? भनेर प्रश्न गरेका हुन ।
‘अब हामी प्रश्न गर्छाैँ, उत्तर चाहन्छौँ र सरकारलाई जवाफदेही बनाएर छाड्छौँ । हामीलाई अब उत्तर चाहिन्छ,’ उनले भने, ‘दश अर्ब रुपैयाँ खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । पाँचवटा पिसिआर मेसिन किन्ने, २५ हजार जम्मा किट किनेर १० अर्ब रुपैयाँको हिसाबकिताब देखाउनुपर्दैन ? हामीलाई एक–एक कुराको हिसाबकिताब चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको वेलामा भ्रष्टाचारमा लिप्त हुने यो निर्लज्जताको पराकाष्ठा हो । हामीलाई हिसाब चाहिन्छ ।’