प्राधिकरणको सूचनापछि पनि धमाधम चार्टर उडान, २६५ यात्रु बोकर जापान उड्दै निगमको जहाज

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले चार्टर उडान नगर्न सूचना जारी गरेपनि सो सूचनाको उलंघन भइरहेको छ ।

टिकटमा चर्को शुल्क असुलेर चार्टर फ्लाइट हुने गरेको गुनासो आएपछि प्राधिकरणले शनिबार लकडाउनमा फसेका नागरिकको उद्धारबाहेक अन्य व्यवसायिक उडान गर्न रोक लगाएको थियो ।

तर प्राधिकरणको सूचनालाई एकातिर पन्छाउँदै चार्टर उडान हुने क्रम रोकिएको छैन ।

मंगलबार फेरि नेपाल वायुसेवा निगमको विमान जापान उड्न लागेको छ । निगम स्रोतका अनुसार २६५ यात्रु बोकेर निगमको वाइडबडी विमान जापानको नारिता उड्न लागेको छ ।

मंगलबार राति ९ बजेका लागि उडान तालिका तय भएको भएपनि उडानले अनुमति भने पाइनसकेको निगम स्रोतले जनाएको छ ।

सोसाइटी ट्राभल्समार्फत गरिएको सो चार्टर बुकिङलाई लिएर निगमभित्र नै असन्तुष्टि बढेको छ । स्रोतका अनुसार लाखौंको आर्थिक चलखेलमा सो उडान बुकिङमा भएको छ भने अनुमतिको लागि समेत चलखेल भएको छ । प्राधिकरणले स्पष्टरुपमा शनिबारको सूचनामा व्यवसायिक उडान नगर्न भनेपनि आजको उडान व्यवसायिक नै भएको र उडान अनुमतिका लागि मन्त्रालयबाट नै चलखेल भएको स्रोतको भनाइ छ ।

अहिलेसम्म विमान उड्नका लागि अनुमति प्राप्त नभइसकेको भएपनि कतिपय यात्रुहरु विमानस्थल पुगिसकेको विमानस्थलका एक अधिकारीले बताए । यात्रुमा जापानी नागरिक, जापानमा अध्ययनगर्ने विद्यार्थीलगायत रहेको बताइएको छ ।

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले मंगलबार राति  प्रक्रिया पुर्‍याएरै नेपाल वायुसेवा निगमको जहाज जापान उड्न लागेको बताए । उद्यपि उनले उडान अनुमति प्राप्न नभइसकेपनि केही बेरमै अनुमति प्राप्त गर्ने बताए ।

उनले यो उडानलाई प्राधिकरणको सूचनाविपरित भन्न नमिल्ने दावी गर्दै जापानी दूतावासको आग्रहमा यो उडान हुन लागेको बताए । उनका अनुसार यस्तै अर्को उडान बुधबारका लागि पनि तय भएको छ । ‘अघि नै अमुमति दिइसकेको हकमा आइतबार उडान भएको थियो । आजको भने नेपालस्थित जापानी दूतावासको आग्रहमा भएको उडान हो’, उनले भने, ‘हामीले शनिबारको सूचनामार्फत व्यवसायिक उडानमात्र नगर्न भनेका हौं, दूतावासले आग्रह गरेपछि यो उडान हुन लागेको हो । दूतावासकै आग्रहमा बुधबार पनि अर्को उडान हुन्छ ।’

यसअघि आइतबार पर्यटनमन्त्री योगेश भट्टराईका निकट मानिने भगिरथ सापकोटाको योजनामा जापानको नारितामा चार्टर उडान भएको खुलासा भएको थियो ।

आइतबार राति ९ बजेर २५ मिनेटमा त्रिभुवन विमानस्थलबाट जापानको नारिताका लागि नेपाल एअरलाइन्सको वाइडबडी विमान उडेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय