कोरोनाका कारण विदेश रहेर घर फर्किन चाहेने र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकको तथ्यांक संकलनका लागि प्रदेश सरकारले अनलाइन फारम खुला गरेको हो ।
फारम भरेका प्रदेशवासीको सीपलाई प्रदेशको विकासमा प्रयोग गर्ने उद्देश्यसहित सरकारले अनलाइन फारम खुला गरेको मुख्यमन्त्री शेरधन राईले बताए । मंगलबार अनलाइन फारम शुभारम्भ गर्दै उनले सबैलाई फारम भर्न आग्रह गरे ।
५ जेठमा बसेको मन्त्रिपरिषद बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । यो फारम प्रदेश योजना आयोगमा रहनेछ ।
विदेशबाट फर्कन चाहेका र फर्किएका युवाहरुको सीप सदुपयोग गरिने मुख्यमन्त्री राईले बताए ।
तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचिका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने उनले बताए ।
विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यममा जोड्न प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री राईले बताए ।
तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले बताए ।
अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावली समेत राखिएको छ ।