
ललितपुर — ललितपुर महानगरपालिकाले सरसफाई मजदुरलाई ५० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ । प्रत्येक मजदुरलाई सुरक्षा लुगा एक सेट, पञ्जा र बुट एक जोर, मास्क ३ थान, १०० एमएलको स्यानिटाइजर, चस्मा, साबुन, रुमाल, बाल्टिन र मग एक–एक वटा वितरण गरिएको छ ।
महामारीको समयमा सरसफाईलाई विशेष ध्यान दिनुपर्ने हुनाले महानगरपालिकाले यस विषयलाई प्राथमिकता दिएको मेयर चिरिबाबु महर्जनले बताए । लकडाउनका कारण सामग्री अभाव भएको अवस्थामा यस्तो सहयोग पाउनाले नगरपालिकालाई ठुलो राहत पुगेको उनले बताए । ‘यी सामग्री अस्पताल लगायत संक्रमित फोहोर व्यवस्थापन गर्न सरसफाई मजदुरद्वारा प्राथमिकताका साथ प्रयोग हुनेछ,’ उनले भने ।



कोभिड–१९ को भयावह स्थितिमा सरसफाई मजदुरहरुको स्वास्थ्य सुरक्षाको आवश्यकतालाई महसुस गर्दै गैर सरकारी संस्था गुथि र वाटर एड संस्थाको सहयोगमा महानगरपालिकामा कार्यरत सरसफाईकर्मीहरुलाई सामग्री हस्तान्तरण गरिएको हो ।