
२९ जेठ, काठमाडौं । पूर्वप्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी आज रिहा हुने भएका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेलसजाय भोगिरहेका ठकुरी एक वर्ष कैद सजाय भुक्तान गरी डिल्लीबजार कारागारबाट छुट्न लागेका हुन् ।
अदालतले एक वर्षको जेल सजाय तोकेको भए पनि कारागार प्रशासनले २० दिन छुट दिएपछि उनी आज छुट्न लागेको डिल्लीबजार कारागारका सहायक जेलर सीता अधिकारीले जानकारी दिइन् ।



उनी १९ असोज २०७६ मा जेल चलान भएका थिए । ठकुरीसहित पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङसहित आधा दर्जन प्रहरी अधिकारी सुडान घोटाला पक्ररणमा दोषी ठहर भएका थिए ।
ठकुरीबाहेक उनीहरूले यसअघि नै कैद सजाय भुक्तान गरिसकेका छन् । सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा प्रकरणमा उनीहरूलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
विशेष अदालतको पूर्ण फैसलालाई आंशिक उल्ट्याउँदै १६ वैशाख २०७४ मा सर्वाेच्च अदालतले समेत सदर गरेपछि उनी जेल जान बाध्य भएका हुन् । ठकुरीलाई एक वर्ष जेल सजाय र ४० हजार रुपैयाँ जरिमाना हुने फैसला सुनाइएको थियो ।