सौराहाका २५ होटललाई क्वारेन्टिन बनाउन व्यावसायी तयार

द्वारा प्रकाशित गरिएको हो |
२०७७ जेष्ठ ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३१ जेठ, चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहाका २५ वटा होटललाई क्वारेन्टिन बनाउन तयार भएको व्यावसायीहरुले बताएका छन् । व्यावसायीले भरतपुर क्षेत्रका २२ वटा होटललाई पनि क्वारेन्टिनको रूपमा प्रयोग गर्न दिने बताएका छन् ।

क्षेत्रिय होटल संघ सौराहाले क्वारेन्टिन बनाउन तयार भएका होटलहरुको सूची नै सार्वजनिक गरेको छ । क्वारेन्टिन बनाउन तयार होटलमा पर्यटक स्तरीयदेखि दुई तारे होटलसम्म छन् । सबैभन्दा धेरै ल्याण्डमार्क फरेस्ट पार्कले ७० बेड उपलब्ध गराउने जनाएको छ । सौराहामा ५९१ बेड क्वारेन्टिन बनाउन दिने निर्णय भएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईले होटलको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएको जानकारी दिए ।

सूचीमा प्रतिव्यक्ति दुई हजारदेखि आठ हजारसम्म खाना र बसाइको दररेट राखिएको छ । सौराहामा १२० वटा होटल छन् । लकडाउनसँगै सबै होटल बन्द छन् । सरकारसँग सहमती भएको दरमा नै अहिले मूल्य तोकिएको अध्यक्ष भट्टराईले बताए । ‘होटल दिन हामी तयार छौं, पहिला पनि भनेका हौं, तर स्थानीय जनतासँग कसरी सहमती गर्ने स्थानीय सरकारको काम हो,’ अध्यक्ष भट्टराईले भने ।

यस्तै, भरतपुर क्षेत्रका २२ वटा होटलले पनि क्वारेन्टिनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ र होटल व्यवसायी संघले नौ/नौवटा होटल क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिन तयार भएको जनाएका छन् ।

नेपाल होटल व्यावसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले आफ्नो दुईवटा होटल पनि क्वारेन्टिनका लागि दिन तयार भएको बताएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबै होटललाई स्पष्टरुपमा दररेट राखेर सूची पठाउन आग्रह गरिएको बताए । होटलमा क्वारेन्टिन बनाउनुपर्ने अवस्था आएमा पूर्वतयारी गरिएको उनको भनाइ छ ।

सरकारले विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटल क्वारेन्टिनमा राख्ने नीति लिएको छ । तर होटल बसाइँको खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्नु पर्ने छ । यसअघि सरकारले क्वारेन्टिनका लागि प्रयोग गरिने होटलहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय