
३१ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (काेभिड-१९) रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको खर्चेकाे विवरण सार्वजनिक गरेकाे छ । खर्च भएकाे भनिएकाे १० अर्ब रूपैयाँको हिसाब देखाउन चाैतर्फी माग भएपछि सरकार मातहतकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले खर्चकाे विवरण सार्वजनिक गरेको हाे ।
यद्यपि, उसले ८ अर्ब ३९ करोड खर्चकाे विवरण मात्र सार्वजनिक गरेको छ। शनिबार सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रूपैयाँ खर्च गरेको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५३ लाख ८३ हजार रूपैयाँ खर्च गरेको देखाइएकाे छ।
यसैगरी संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ५ करोड २० लाख, गृह मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र शहरी विकास मन्त्रालयले १ करोड ४२ लाख खर्च गरेको सीसीएमसीले जनाएकाे छ।
यसरी यी ६ वटा मन्त्रालयले कुल ४ अर्ब १० करोड ५५ लाख ६ हजार रूपैयाँ खर्च गरेका छन् ।
सीसीएमसीका अनुसार औषधि र स्वास्थ्य सामग्री खरिद र व्यवस्थापन शीर्षकमा सबैभन्दा बढी ३ अर्ब ९० करोड ८८ लाख रूपैयाँ खर्च भएको छ।
स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, क्वारेन्टाइनमा १३ करोड ५५ लाख ९८ हजार, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख नौ हजार गरी कुल ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार खर्च भएको विवरणमा उल्लेख छ।
सबैभन्दा बढी रकम सुदूरपश्चिम प्रदेशमा भएकाे देखाइएकाे छ । सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार खर्च गरेको सीसीएमसीले जनाएकाे छ ।
यसैगरी सबैभन्दा कम खर्च प्रदेश-५ ले गरेकाे छ । याे प्रदेशले ७ करोड ७९ लाख ३० हजार खर्च गरेको विवरणमा जनाइएकाे छ ।