४ असार, काठमाडौं । भारतले कब्जा गरेकाे भूमि समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित भएको छ।
नेपालको संविधानको दोस्रो संशोधन विधेयकमाथि भएको दफावार छलफल भएपछि मतदान भएको थियो।
मतदानमा राष्ट्रियसभामा उपस्थित ५८ सदस्यहरुमध्ये ५७ जनाले नक्साको पक्षमा मतदान गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मतदानमा भाग लिन पाउँदैनन्।
विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए ।
राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भैसकेको छ ।