प्रदेश १ का ४० जना कोरोना संक्रमित डिस्चार्ज

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

४ असार, विराटनगर । प्रदेश १ बाट ४० जना कोरोना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको आइसोलेसनबाट ४० जना फूलगुच्छा बोकेर घर फर्किएका हुन् ।

पछिल्लो पटक गरिएको पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । कोरोना जितेर डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना छन । उनीहरु १५ देखि ४७ वर्ष उमेर समूहका छन् ।

कोरोना जित्नेहरुलाई विदाई गर्न प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ पुगेका थिए ।

गोठगाउँमा आइसोलेसन सञ्चालन भएपछि राखिएका मध्ये पहिलो पटक ४० जना डिस्चार्ज भएका हुन । ४० जना डिस्चार्ज भएपछि अस्पतालमा अब ८५ जना संक्रमित उपचाररत छन् ।

कोरोना जित्नेहरुलाई विदाई गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने क्रममा रहेको दाबी गरे ।

क्वारेन्टिन बाहेक समुदायमा कोरोना संक्रमण नदेखिएको बताउँदै उनले चाँडै कोरोना नियन्त्रणमा आउने बताए । बिहीबार घर फर्किएकाहरु २२ जेठदेखि २६ जेठमा अस्पताल भर्ना भएका थिए ।

बिहीबार ४० जना डिस्चार्ज भएसँगै प्रदेश १ मा कोरोना जितेर घर फर्किनेको संख्या २ सय २४ पुगेको छ । संक्रमितको संख्या ४ सय १७ छ ।

उपचाररत मध्ये २९ जना कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय