प्रधानमन्त्रीको टिप्स– कोरोना भगाउन ‘तातोपानी र बेसार’ : ‘इनफ इज इनफ’ !

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

४ असार, काठमाडौं । ‘कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो, लाग्यो भने, हाच्छिउँ गर्नुपर्छ । तातोपानी खाएर निको पार्छ भन्‍ने सोच्नुपर्छ । कोरोनाले लाँदैन भन्ने सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ ।’यो प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रियसभा बैठकमा दिएको अभिव्यक्ति हो ।

उनले बैठकमा कोरोना संक्रमण हुँदैमा नमरिने बताउँदै तातोपानी खाएर निको हुने दाबी गर्दै आत्मविश्वास दह्रो भए कोरोना आफैं पराजित हुने पनि ‘टिप्स’ दिए ।

औषधि पत्ता लगाउन नसकेर कोरोना महामारीबाट विश्वभर झण्डै पाँच लाख मानिसहरुको मृत्यु भइसकेको अवस्थामा तातोपानी खाएर कोरोना जित्‍न सकिने अभिव्यक्ति दिएपछि सामाजिक सञ्‍जालमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भइरहेको छ ।

मुलुकमा कोरोना भाइरसका कारण भयाभव अवस्था सिर्जना भइरहँदा प्रधानमन्त्री ओलीले तातोपानीबाट कोरोना जित्‍ने ‘टिप्स’ दिएपछि चिकित्सक, राजनीतिकर्मीदेखि पत्रकारहरु सामाजिक सञ्‍जालमा आक्रोश पोखिरहेका छन् ।

मुटु रोग विशेषज्ञ डा. रामेश कोइरालाले प्रधानमन्त्री ओलीको अभिव्यक्तितर्फ इंगित गर्दै ‘हाइट अफ हाइपोक्रेसी’ लाई ह्यासट्याग दिएर ट्विटरमा लेखेका छन्, “जसले दैनिक दशथरी दबाइ खानु पर्छ अनि रुघा लाग्दा पनि कमजोर रोगप्रतिरोधात्मक शक्तिका कारण न्युमोनिया (निमोनिया) नै हुनसक्छ भनेर तुरुन्तै अस्पताल दौडिनुपर्छ, उसैले दैनिक कसरी इम्युनिटी बलियो बनाउने भन्दै लसुन-बेसारबारे प्रवचन दिन्छ ।”

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पनि प्रधानमन्त्रीको तातोपानीबाट कोरोना जित्‍ने ‘टिप्स’ को आलोचना गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारको शासन सहनै गाह्रो भइसकेको टिप्पणी गरेका छन् ।

“सयौंको संख्यामा जनतामा संक्रमण फैलिएको छ । सर्वोच्च शासकबाट तातोपानी खाएर कोरोना भगाउने आदेश आउँछ । संवेदनहीन शासकको सनकका भरमा जब राज्य चल्छ, नागरिकको लासमाथिसमेत खेलबाड हुन्छ । यो शासन सहनै गाह्रो भइसक्यो । इनफ इज इनफ !,” नेता पौडेलले ट्विट गरेका छन् ।

यस्तै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले पनि प्रधानमन्त्री ओलीको ‘टिप्स’ लाई प्रेरणादायी सल्लाहको रुपमा टिप्पणी गरेका छन् । “तातोपानी सुर्क्याउने, हाच्छिउँ गर्दिने र उडाईदिने ! आखिरमा ठूलोखाले रुघाखोकी त हो नि कोरोना !’ सम्माननीय प्रधानमन्त्रीको प्रेरणादायी सल्लाह हो यो । ‘गफ हान्देको’ होइन नि !!,” उनले ट्विटरमा लेखेका छन् ।

ट्विटर प्रयोगकर्ता डा. शुधाम्शु केसीले प्रधानमन्त्री ओलीलाई जन्डिसको संक्रमण हुँदा बेसार खान नहुने कुन पुस्तकमा लेखेको छ भन्दै प्रश्न गरेका छन् । “यसरी गलत सूचना जनतालाई दिन हुन्न प्रधानमन्त्रीज्यू । कुन किताबमा लेखेको छ जण्डिसमा बेसार खान हुन्न भनेर ? इनफ इज इनफ,” उनले ट्विट गरेका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले विनियोजन विधेयकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले जन्डिस भएका सुत्केरी र गर्भवती महिलाले बेसार खान नहुने बताएका थिए । “रक्तअल्पता भएका, जन्डिस भएका सुत्केरी र गर्भवती महिलाले बेसार खानु हुँदैन,” उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय