बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेको ६ दिनपछि कोरोना पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

५ असार, कैलाली । बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।

अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए ।

बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी दमको बिरामी रहेको मेयर बडुवालले बताए ।

बडुवालका अनुसार शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

‘आर्थिक अवस्था निकै कमजोर थियो,’ बडुवालले भने ‘गरिबीकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरेका छौँ । तर, यकिन कारण अझै खुलेको छैन ।’

आत्महत्यापछि उनको शवलाई क्वारेन्टिनभन्दा केही तल खोला नजिक व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराइले बताए । ‘आत्महत्या भए पनि कोरोना हुन सक्छ भन्ने आशंकामा हामीले पुरै प्रकृया पूरा गरेर शवको व्यवस्थापन गरेका थियौं, ’ उनले भने, ‘कोरोना पुष्टि नहुँदै पनि कुनै लापरवाही गरेनौं ।’ उनको शव व्यवस्थापनमा उनका २ जना आफन्त नै खटिएका थिए ।

बिगत २४ वर्षदेखि भारत बस्दै आएका उनी श्रीमती र छोराछोरीसँगै नेपाल फर्किएका थिए । अहिले उनको परिवारका सदस्यहरु क्वारेन्टिनमै बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय