पिसिआर ल्याब कनकाईको समर्पण भवनमा राखिने

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा ल्याउन लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ ।

एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब कोटिहोममा रहेको समर्पण राष्ट्रिय भवनको दुईवटा कोठामा सञ्चालन गरिने अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

आइतबार बिर्तामोडमा बसेको अभियानले ल्याब राखिने स्थान तोक्नुका साथै त्यसको व्यवस्थापन र दिगो सञ्चालनका बारेमा छलफल गरेको छ । त्यस्तै, प्राविधिक पक्ष र आर्थिक व्यवस्थापनका बारेमा छलफल तथा निर्णय भएको छ ।

अभियानका संयोजक महेन्द्र गिरीलाई रकम हस्थान्तरण गर्दै रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका पदाधिकारीहरु ।

यसअघि अभियानले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरसँग ल्याब सञ्चालनबारे प्रस्ताव पठाएको थियो । उनीहरुको सल्लाहमा कोटिहोममा ल्याब स्थापनाको टुंगो लागेको हो । अभियानले १ नम्बर प्रदेश सरकारलाई पिसिआर ल्याब मेसिन तथा अन्य उपकरण हस्तान्तरण गरेपछि नगरले सञ्चालनको जिम्मेवारी पाउने प्रावधान छ ।

यसैबीच, अभियानले मेसिन तथा त्यसका लागि आवश्यक पर्ने फ्रिजलगायतका अन्य सामग्री खरिदको प्रक्रिया अघि बढाएको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । झापाका १५ वटा स्थानीय तह सहमत भए भविष्यमा सो ल्याब भएको भवनलाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने अभियानको योजना छ ।

अभियानले अन्नपूर्ण हस्पिटलका चिकित्सक वसन्त पन्त र बिर्तामोडका बायो मेडिकल इन्जिनियर मिसाल पोखरेललाई ल्याब स्थापना र त्यसको भौतिक पूर्वाधार तथा अन्य पाटोका बारेमा अध्ययनको जिम्मेवारी दिएको छ ।

अभियानले ल्याब खरिदका लागि ८० लाख रुपैयाँ संकलन गरिसकेको संयोजक गिरीले बताए । ल्याबका लागि १ करोड २० लाख रुपैयाँ संकलन गर्ने अभियानको लक्ष्य रहेको छ । त्यसका लागि सहयोग जारी छ ।

ल्याब स्थापनाका लागि हालसम्म ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख र झापा जिल्ला सहकारी संघको समन्वयमा २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेका छन् । विभिन्न सामाजिक तथा वित्तीय संस्थाले पनि अभियानलाई सहयोग गरिरहेका छन् ।

बैठकमा अभियानमा साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी, जिल्ला सहकारी संघका सहसचिव भवानी दंगाल, नागरिक समाजका लोकबन्धु कन्दङवा, रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल) ओली, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले विभिन्न सुझावसहित प्रतिबद्धता व्यक्त गरेका थिए ।

संवाद समूहका तर्फबाट एकराज गिरीले सहजीकरण गरेको बैठकमा बिर्तामोड साना सहरी खानेपानी, सरसफाई तथा उपभोक्ता संस्थाका सचिव मेघराज बाँस्तोला, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमली, सहारा नेपाल साकोसका अर्जुन चुडाल, हरि शर्मा, राजेन्द्र चम्लागाई, विकास बस्नेतलगायतले बैठकमा सुझाव राखेका थिए ।

यसैबीच, ल्याब स्थापनाका लागि रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरले २ लाख ५ हजार १११ रुपैयाँ प्रदान गरेको छ । अभियानको बैठकअघि प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल) ओली, कोषाध्यक्ष नारायणप्रसाद ओली र सदस्य नारदमणि न्यौपानेले अभियानलाई चेक हस्तान्तरण गरे ।

बैठककै बीच शिवसताक्षी–८ झिलझिलेस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार एक सय ११ रुपैयाँ अभियानलाई प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै शिवसताक्षी–७ स्थित देउमाइ बचत तथा ऋण सहकारी संस्थाले २५ हजार एक सय २५ रुपैयाँ प्रदान गर्ने सो संस्थाका अध्यक्ष मणिप्रसाद खपतरी खड्काले घोषणा गरे ।

बिर्तामोड निवासी शेखर–आसा ढकालले १० हजार एक सय एक रुपैयाँ, कृष्ण–माया प्रसाईंले १० हजार एक सय एक रुपैयाँ, जीवन–शारदा रिजालले पाँच हजार एक सय एक रुपैयाँ प्रदान गरेको अभियानका सदस्य गजेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय