२७ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
२५औँ विश्व जनसङ्ख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताए ।
मन्त्री ढकालले जनसङ्ख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसङ्ख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरुको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए ।
उनले जनसङ्ख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने औंल्याए । ‘सन्तुलित जनसङ्ख्याको वितरण र प्रभावकारी जनसङ्ख्या व्यवस्थापनको मार्गमा जनसङ्ख्याका खासखास सूचकहरुमा सुधार गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
सेवासुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाउँमा आवश्यक पूर्वाधारहरुको निर्माण गरी व्यवस्थित बसोबासलाई मिलाएर अव्यवस्थित शहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको उनले बताए ।
देशको आधा हिस्साभन्दा बढी सङ्ख्यामा रहेका महिलाको स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, रोजगारीजस्ता विषयहरुमा राज्यले विशेषरूपमा ध्यान दिन सकेमा मुलुकको विकासमा यसले ठूलो योगदान पुर्याउन सकिने उनको भनाइ थियो ।
विश्वभरि नै मनाउन थालिएको दिवसको नारा ‘कोभिड–१९ सङ्क्रमणको पूर्ण अन्त्य गरौँ, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौँ’ रहेको छ ।
सन् १९८७ मा विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको स्मरण गर्दै सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले यो दिवस मनाउन थालेका हुन् । नेपालको जनसङ्ख्या तीन करोड पुगेको छ ।
त्यसमध्ये शहरमा २१.४ प्रतिशत रहेको मन्त्रालयका जनसङ्ख्या महाशाखा प्रमुख शैलेजा रेग्मीले जानकारी दिए । यसैगरी नेपाल विश्वको जनसङ्ख्याको ४९ औँ स्थानमा रहेको छ । नेपालको औसत आयु ७१.७४ रहेको छ । प्रतिहजारमा २३.४ जना शिशु मृत्युदर रहेको छ ।
रासस