कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परे : अध्यक्ष दाहाल

द्वारा प्रकाशित गरिएको हो |
२०७७ असार २७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकन पश्चात माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उनको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं, उनले भने ।

उनले भने , ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।

उनले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री एकढिक्का हुन आग्रह गरे । उनले भने , ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’

‘हतारमा केहि कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं,’ प्रचण्डले भने, ‘म पार्टीको एउटा अध्यक्ष। मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु। मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ।’

त्यस क्षेत्रको जनप्रतिनिध समेत रहेका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्जले माडीमा पु-याएको असर, यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास सम्बन्धि आफ्नो ध्यान रहेको बताए ।

अरु समान्य निर्वाचित सदस्यले जस्तो एक दुई वटा काम गरेर यस क्षेत्रबाट आफू फुत्केर जान सक्ने स्थानमा नभएकोले माडीको पूर्वाधार विकास हुनेमा विश्वस्त हुन उनले आग्रह गरे ।

उनले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउने कुरामा सरकार र पार्टीमा छलफल भइरहेको बताए । प्रचण्डले आकाशे पुलको अध्ययन र डिपिआरका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय