७ साउन, काठमाडौं । कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बर्मन बुढाको आज उपचारका क्रममा ललितपुरमा निधन भएको हो ।
बुढा तत्कालिन जनमोर्चा नेपालबाट सांसद निर्वाचित भएका थिए । जनमोर्चाले माओवादीको नामबाट जनयुद्ध शुरु गरेपछि बुढा निस्कृत जस्तै रहेका थिए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ घर भएका पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् । उनको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको प्रचण्डको भनाइ छ ।
यसैगरी नेकपा नेता जनार्दन शर्माले पनि बर्मन बुढाको असामयिक निधनले मर्माहत बनाएको बताएका छन ।
२०४८ सालको आमनिर्वाचनमा रोल्पाबाट निर्वाचित बुढाको स्वास्थ्यमा समस्या रहँदै आएको थियो । उपचारका क्रममा उनको ९० वर्षको उमेरमा निधन भएको हो ।