बाढी पहिरोमा परेर थप ७ जनाको मृत्युःयस्तो छ देशभरको अपडेट

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

 बुधबार बिहान स्याङ्जा, गल्याङ नगरपालिका–१० गाउँस्वारा बस्ने ५२ वर्षीया माया सारूको पहिरो पुरिएर मृत्य भएको छ ।
घरान सुतिरहेको बेला पहिरोमा पुरिएर सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी छोरी २० वर्षीया नारायणी सारूलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ ।

पहिरोले घर पूर्णरुपमा नष्ट भएको छ । प्रहरी चौकी गल्याङ र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङगास्थित भिरबाट मंगलबार साँझ ढुङगा माटो सहितको पहिरो खस्दा सोही गाउँपालिका–३ दाना काभ्रे बस्ने ३४ वर्षीय झलक पुनको पुरिएर मृत्यु भएको छ ।

साथै पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्णरुपमा अवरोध भएको छ । मुस्ताङतर्फ पैदल जाँदै गरेका मानिसहरु समेत पहिरोमा परेको हुनसक्ने भएकाले सिमा प्रहरी चौकी भुरुङ तातोपानीबाट खोजी कार्य गरिरहेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–७ मोदिडाँडा बस्ने तेज कुमार बराईलीको कच्ची घरमा अविरल वर्षाको कारण मंगलबार रातिदेखि पहिरो खस्दा घरको पर्खाल भत्की पाहुना आएका मेचीनगर नगरपालिका–९ बस्ने टेक बहादुर बिकको छोरा १५ वर्षीय विवेक दर्नालको पुरिएर मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जेसिबि र स्थानीयको सहयोगमा उनको शव बाहिर निकालेको हो ।
महोत्तरीको बलबा नगरपालिका–११ भगवतीपुरस्थित रातु खोलाले मंगलबार बिहानदेखि बगाई बेपत्ता भएका भंगाहा नगरपालिका–६ बस्ने ४० वर्षीय विरेन्द्र कापड सोही नगरपालिका–४ स्थित उत्तरबारी टोलमा मृत अवस्थामा फेला परेका छन् ।

जनकपुरबाट साईकलमा घर संग्रामपुर जाने क्रममा रातु खोला तर्दा खोलाले बगाएका उनलाई खोजी गर्ने क्रममा शव फेला परेको हो ।
रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाही बस्ने २४ वर्षीय रोहित थारु कपिलवस्तु बाणगंगा नगरपालिका–१० भेलैयास्थित कोठी खोलामा मंगलबार बिहान डुबेर मृत अवस्थामा फेला परेका छन् ।

माछा मार्न भनी रुपन्देही(कपिलवस्तुको सिमानामा पर्ने कोठी खोलामा गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।
नवलपरासी,पश्चिम सुनवल नगरपालिका–४ सितलास्थित तुरिया खोलामा डाईभर्सन गरेको तालमा मंगलबार दिउँसो हाल नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको छ ।
घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

वाढी पहिराेले पुर्याएकाे क्षति

त्यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका–५ स्थित घैचा खोलामा अविरल वर्षाको कारण पानीको बहावले जगर्नाथ डेडराज जनता माद्यामिक विद्यालय कालाबन्जरको पर्खाल सोमबार बिहान भत्कनुका साथै प्रयोगशालामा समेत पानी पसेर किताब, कापी, फ्लेक्स पेपर लगायतका सामग्रीहरु भिजेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही, चन्द्रनगर गाउँपालिका–४ मुस्लिम टोलस्थित रजदिया बांके मदनी मदरसाको पर्खाल अविरलको वर्षाको कारण मंगलबार बिहान भत्किदाँ करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नवलपरासी,पश्चिम सुस्ता गाउँपालिका–५ थारुटोलमा अविरल परेको वर्षाको कारण नारायणी नदीको बहाव बढन गई १७ वटा घरभित्र पानी पसेर मंगलबार साँझदेखि डुबानमा परेको छ ।
डुबानमा परेका घरहरुमध्ये सोही ठाउँ बस्ने केदार चौधरी लगायत ५ जनाको कच्ची घर भत्किदा करिब ४६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका–४ झ्यालटुङ बस्ने धन बहादुर सुनारीको कच्ची घर अविरल वर्षाको कारण मंगलबार दिउँसो भासिन जाँदा भाँडावर्तन, लत्ताकपडा, अन्नपात लगायतको सामान गरी करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी तिनाउ गाउँपालिका–५ कालिमाटीमा पहिरो झरेर सिद्धार्थ राजमार्ग मंगलबार दिउँसोदेखि अवरोध भएको छ । प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले एकतर्फी सडक सुचारु गराउनुका साथै आवश्यक पहल गरिरहेको छ ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा मंगलबार दिउँसोदेखि ९० घरधुरीमा अविरल वर्षाको कारणले कोशी नदीको पानी पसेको छ ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगर लगायत जिल्ला अन्तर्गतका सम्पूर्ण सुरक्षा निकायका स्थानीय प्रमुखहरु र स्थानीय निकाय समेतको टोली हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित बाँधमा कमाण्ड सेन्टर खडा गरी उद्धार कार्यमा जुटेका छन् ।

सर्लाही, चक्रघट्टा गाउँपालिका–५ पडरिया बस्ने सहदेब भण्डारीको कच्ची घर अविरल वर्षाको कारण मंगलबार दिउँसो घर भत्किँदा अन्नपात, फर्निचर लगायत गरी करिब ५ लाख रुपैयाँ मुल्य बराबरको धनमाल नष्ट भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका–१ स्थित सिमा प्रहरी चौकी बन्जरहाको कम्पाउण्डमा अविरल वर्षाको कारण आएको लाल बकैया खोलाको बाढीको पानी पसेर कार्यालयको काममा बाधा उत्पन्न भएको छ ।

उक्त कार्यालय सोही ठाउँस्थित राम सुनर प्रसादको घरमा सारिएको छ । यसैगरी गौर नगरपालिका(२ स्थित भन्सार सुरक्षा गार्डको कम्पाउण्डमा बाढीको कारण करिब ३ फिट पानी पसेर कार्यालयको काममा बाधा उत्पन्न भएको छ । उक्त कार्यालय सोही ठाउँस्थित रामेश्वर शाहको घरमा सारिएको छ ।

प्युठानको सरूमारानी गाउँपालिका–२ दर्भान पुल नजिकै भालुबाङ(प्यूठान सडकखण्डमा पहिरो खसेर मंगलबार साँझदेखि सडक अवरोध भएको छ । प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

स्ताङको थासाङ गाउँपालिका–२ कोवाङस्थित प्रहरी चौकी कोवाङ मंगलबार साँझदेखि पहिरो खसेर जोखिममा परेको कारण सोही ठाउँस्थित अमन पौडेलको घरमा स्थानान्तरण गरिएको छ ।
तनहुको बन्दिपुर गाउँपालिका–६ नाल्दीस्थित बुद्धसिंह राजमार्गमा पहिरो झरेर सोही ठाउँ बस्ने नवराज गुरुङ सहित ४ जनाको घर मंगलबार दिउँसो बगाएको थियाे ।

ईलाका प्रहरी कार्यालय सराङघाटबाट खटिएको प्रहरीले उद्धारका लागि आवश्यक पहल गरिरहेको छ ।
भक्तपुर, चाँगुनारायण नगरपालिका–४ खोरियास्थित कृष्ण मा.वि. नजिक कच्ची सडकमा अविरल वर्षाको कारण पहिरो गई सडक मंगलबार दिउँसोदेखि अवरोध भएको छ । महानगरीय प्रहरी प्रभाग चांगुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ मुग्लिङ–नारायणगढ सडकखण्डको सत्रकिलो नजिकै चट्टान सहितको पहिरो खसेर मंगलबार साँझदेखि सडक पूर्णरुपमा अवरोध भएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय