७ साउन, काठमाडौं । बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सम्पूर्ण कर्जाहरुको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटाएको छ । साउन ६ गतेदेखि सबै ग्राहकमा लागू हुने गरी कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ ।
यस्तै कोभिड–१९ को असरबाट प्रभावितहरुका लागि आर्थिक राहत होस भन्ने अभिप्रायले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले रु. ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको छ । बैंकले चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तमा भुक्तानी गरेका ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशत दरले रु. ३५ लाख रुपैयां छुट गरेको थियो ।
नयाँ आर्थिक वर्षको शुरुवातसंगै बैंकले कोभिड–१९ वाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा ब्यक्तीगत घर कर्जा बार्षिक ९.५० प्रतिशतमा प्रवाह गर्नेे बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । यस्तै अन्य कर्जाहरुमा समेत अत्यन्त प्रतिस्पर्धी ब्याजदर कायम गरी अर्थतन्त्रमा योगदान पुराउने दावी बैंकले गरेकोे छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक प्रदेश ५ को बुटवलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको हाल जारी तथा चुक्ता पूँजी ३ अर्ब १ करोड रहेको छ भने बैंकले प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ६९ वटा शाखा कार्यालय १ वटा एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग कारोवार गरिरहेको छ । निकट भविष्यमा बैंकले अधिराज्यभरि शाखा सञ्जाल विस्तार गर्ने प्रकृयामा रहेको जानकारी गराएको छ ।