१४ साउन, प्युठान । प्युठानमा लकडाउन सकिएपछि सञ्चालनमा आएका सार्वजनिक सवारी साधनहरुले मनपरी भाडा असुलेको पाइएको छ । पहिलेको भन्दा झन्डै दोब्बर भाडा तिर्नुपर्दा यात्रुहरू निकै मारमा परेका छन् ।
सरकारले निश्चित मापदण्डको पालना गर्दै सुरक्षित तरिकाले सवारी चलाउन निर्देशन दिए पनि प्युठानमा त्यसको पालना नहुँदा समस्या बढ्दै गएको छ ।
सार्वजनिक यातायातका साधनले यसअघि १०० रुपैंया भाडा लिने गरेको बहाने –बाग्दुला सडकखण्डमा अहिले १८० रुपैयाँसम्म भाडा लिने गरेको पाइएको छ ।
लकडाउनले यसै पनि आर्थिक समस्या परेको वेला यातायातमा भएको यो चरम भाडा वृद्धिले आफूहरु निकै मारमा परेको यात्रीहरुको गुनासो रहेको छ ।
सरकारले सवारी चलाउन अनुमति दिए पनि कम यात्रु राख्नुपर्ने निर्देशन भएकाले कम भाडा उठाउदा आफूहरुलाई आर्थिक रुपमा घाटा हुने भएकाले बढि भाडा उठाउनु परेको केही सवारीधनीहरुको भनाइ रहेको छ ।
यसैगरी प्रहरीले भने बढी यात्रु राखेर मापदण्ड भन्दा बढी भाडा असुलेको थाहा पाए तत्काल कारवाहि गर्ने जनाएको छ ।