
१६ साउन, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको तेस्रो विभागीय बैठक बसेको छ । विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालको अध्यक्षतामा बसेको बैठकमा माननीय कुलपति गङ्गाप्रसाद उप्रेती, माननीय उपकुलपति डा. जगमान गुरूङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, साहित्य (पद्य÷काव्य) विभागका प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल विशेष आमन्त्रितका रूपमा उपस्थित रहेको थियो ।
यसै गरी बैठकमा साहित्य (बालसाहित्य र लोकवार्ता) विभागका विभागीय सदस्यहरू नर्मदेश्वरी सत्याल, प्रा.डा. ध्रुवकुमार घिमिरे, प्रेमनाथ अधिकारी, नन्दकृष्ण जोशीका साथै विभागीय सल्लाहकार प्रा.डा. जीवेन्द्रदेव गिरी र प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बूको उपस्थिति रहेको थियो । बैठकले आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न भएका कामको मूल्याङ्कन तथा कार्यसमीक्षा गर्नुका साथै आ.व. २०७७/०७८ मा सम्पन्न गरिने विभिन्न महत्त्वपूर्ण कार्ययोजनालाई सर्वसम्मतिले पारित गरेको छ ।



विभागबाट विश्वयुद्धताका जर्मनीमा बन्दी बनाइएका युद्धबन्दी ब्रिटिस गोर्खाली सेनाका लोकगाथाको खोजसङ्कलनको कार्य थालनी गरिसकिएको छ भने यसै आ.व.भित्र प्रमुख जाति र थरसँग सम्बन्धित सृष्टिका कथा खोज, अनुसन्धान गरी ग्रन्थका रूपमा प्रकाशन गर्ने निर्णय गरेको छ । यसका साथै अन्य विभिन्न कार्ययोजनाहरू विभागीय बैठकले पारित गरेको छ ।