२० साउन, प्युठान । मालपोत कार्यालय प्युठानले गत आर्थिक वर्ष २०७६/७७ मा २ करोड १० लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । एक वर्षको अवधिमा मुद्दा र रजिष्ट्रेशनतर्फ गरी उक्त रकम राजस्व उठेको कार्यालयले बताएको छ । मुद्दातर्फ ३ लाख ९२ हजार, रजिष्ट्रेशन अन्तर्गत पूँजीगत लाभकरतर्फ ४५ लाख ८४ हजार, पारित लिखततर्फ १ करोड ५७ लाख ८१ हजार, रोक्का, प्रतिलिपि, शेष बकस बदरतर्फ १ लाख ७४ हजार र पुर्जा विक्रीतर्फ ८७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ ।
कार्यालयबाट १ वर्षको अवधिमा कुल २ हजार ८४२ लिखत पारित भएका छन्, जसमध्ये ५९० महिला लिखत र ६७ दलित लिखत छन् । त्यसैगरी महिला राजस्व छूट १९ लाख १८ हजार र दलित राजस्व छूट ६ लाख २९ हजार रुपैयाँ रहेको छ । कार्यालयले एक वर्षमा जिल्ला मालपोतखलंगा र इलाका मालपोत जसपुरबाट उक्त राजस्व संकलन गरेको हो ।
अघिल्लो आर्थिक बर्ष २०७५/७६ मा कार्यालयले ४ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले अघिल्लो आवमा जग्गा सम्बन्धी विभिन्न शीर्षकमा उक्त राजस्व उठाएको थियो ।
जिल्लामा गत आर्थिक वर्ष २०७६/७७ मा १९ करोड रुपैयाँभन्दा वढी राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्युठानका अनुसार जिल्लामा १९ करोड ३३ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको हो, जसमध्ये अग्रिम आयकर ४ करोड ६७ लाख १० हजार, सामाजिक सुरक्षा १ करोड ९० लाख ४१ हजार, पारिश्रमिक कर १ करोड ५८ लाख ७९ हजार र राहदानी शुल्क ६७ लाख १५ हजार संकलन भएको कोष तथा लेखा नियन्त्रक तुल्सीराम रिजालले जानकारी दिए । पछिल्लो समय जिल्लामा करदाताको संख्या बढ्दै गएकाले राजस्व संकलनमा वृद्धि भएको हो ।