हात्तीवन गोदावरी सडकको हरिबिजोग : प्रदेश सभा सांसदसहितले बुझाए नगर प्रमुखलाई ज्ञापनपत्र

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

२८ साउन, ललितपुर । पर्यटकीय नगरी गोदावरीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर सामान्यदेखि थ्री स्टरसम्मका होटल, रेस्टुरेन्ट तथा लजहरू सञ्चालनमा छन् । तर सडककै कारण गोदावरी पुग्ने जो कोहीलाई पनि त्यहाँसम्म पुग्न अत्यन्त सास्ती खेप्नुपर्छ । कारण हो सडकको दुरावस्था ।

‘सडक अस्तव्यस्त हुँदा सातदोबाटोबाट ८ किमी दूरीमा पर्ने गोदावरी क्षेत्र पुग्न घण्टौ लाग्छ,’ होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीका अध्यक्ष राज घिमिरेले भने, ‘पर्यटकको गोदावरी घुम्ने समय यात्रामै सकिने गरेको छ ।’ समय मात्र नभएर सडकमा भएका खाल्डाखुल्डीले दुर्घटना समेत हुने गरेको छ । दिनहुँ यात्रा गर्ने पैदलयात्रीको समस्या त झनै भनेर साध्य नै छैन । उनले भने, कहिले धुलो कहिले हिलोले बेहाल पार्छ ।

सडक निर्माण छिटो गर्न माग गर्दै होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीले बुझायो नगरपालीकालाई ज्ञापनपत्र
हात्तीबन – गोदावरी सडक निर्माण छिटो निर्माण गर्न पहल थाल्न होटल तथा रेस्टुरेन्ट एसोसिएसन गोदावरीले गोदावरी नगरपालीकालाई ज्ञापन पत्र बुझाएको छ ।

सडक अत्यन्त जीर्ण भएकाले यात्रुहरुले दुःख, कष्ट भोग्नुपरेको भन्दै एसोसिएसनले नगरपालीका प्रमुख गजेन्द्र महर्जनलाई ज्ञापनपत्र बुझाएको एसोसिएसनका अध्यक्ष राज घिमिरेले बताए ।

विविध कारणले सडक निर्माण कार्य अघि नबढेकोले तत्काल निर्माण कार्य सुरु गरियोस् भनि वाग्मती प्रदेशसभा सांसद राजकाजी महर्जनको पनि आफुहरुको अभियानमा साथ भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

गोदावरी सडक बनाउन विभिन्न मितिमा दुइवटा ठेक्का भएको थियो । कर्मनाशादेखि हरिसिद्धिसम्म ४.१५ किमि सडक विस्तार गर्न आशिषरसीएम जेभीले ०७५ कात्तिकमा सम्पन्न गर्ने गरी ०७३ मा २९ करोड ९ लाख ७१ हजारमा ठेक्का पाएका थिए । हरिसिद्धिबाट गोदावरीसम्म ३.४५ किलोमिटर सडक लामारसमानान्तर जेभीले ०७६ कात्तिकमा सम्पन्न गर्ने गरी ०७४ मा ३८ करोड ६ लाख ७८ हजार रुपैयाँमा ठेक्का पाएका थिए । सुरुमा स्थानीय मायादेवी महर्जन, जोगबहादुर महर्जन, कृष्णबहादुर साहीलगायत १० भन्दा बढी व्यक्तिले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका कारणले सडक विस्तार हुन सकेन । सर्वोच्चले दुई वर्षअघि विस्थापित नहुनेहरूलाई क्षतिपूर्ति र मुआब्जा दिएर मात्र सडक विस्तार गर्न सरकारको नाममा आदेश जारी गर्‍यो ।

काठमाडौं उपत्यका नगर विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले मुअब्जा तिर्ने बजेट अभावको कारणले सडकको मापदण्ड कायम गर्न सकेन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गत वर्ष २२ मिटर रहेको गाइडेड ल्यान्ड डेभलपमेन्ट (जीएलडी) मापदण्डलाई घटाएर फुटपाथसहित १६ मिटरमा कालोपत्रे गर्ने निर्णय गर्‍यो । र कालोपत्रे नभएसम्म बिग्रिएको सडक मर्मत गर्ने निर्णय भएको थियो । १६ मिटर कायम गर्दा हरिसिद्धि मोड र ठैब प्रहरी प्रभागनजिकै मात्रै विवाद छ ।

टौखेल, बाडेगाउँ खाल्डाखुल्डी र हिलाम्मे भएका कारण पैदलयात्रुलाई सडकमा हिड्न मुस्किल छ । हरिसिद्धि क्षेत्र पानीमा हिलाम्मे हुन्छ भने हिउँदमा धुलाम्मे हुन्छ । सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

सांसद राजकाजी महर्जनले हरिसिद्धिमा कालोपत्रे गर्न छलफल भइरहेको बताए । उनले आफ्नो तर्फबाट गम्भीररुपमा सबै निकायमा छलफल गरिरहेको बताए । गोदावरी नगरपालीकामासमेत ज्ञापनपत्र बुझाईएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय