२९ साउन, मकवानपुर । मकवानपुरमा आज दिउँसो ट्रक र अटो ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नं- ५ का ३२ वर्षीय बाबुराम रुम्बा र सोही स्थानका ३५ वर्षीय अमृत लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
बसामाडिबाट नेवारपानी तर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र भित्री सडकबाट राजमार्ग तर्फ आउँदै गरेको ना २ ह ३४६६ नम्बरको अटो एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।
अटोमा सवार तीनजना घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको र दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रबक्ता रानाले बताउनु भयो ।
घाइते अटो चालक मनहरी ५ बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको उपचार भइरहेको प्रहरीले जनाएको छ ।