३ भदौ, काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति मृत्यु भएकी हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षकी वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएकी थिइन् ।
मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए । उनको स्वाब सोमबार नै लिइएको भए पनि प्रयोगशालामा चाप धेरै भएकाले रिपोर्ट आउन ढिला भएको चौलागाईको भनाइ छ ।
कोरोना संक्रमणका कारण मकवानपुरको हेटौंडामा पहिलो पटक मृत्यु भएको हो ।