बार्सिलोनालाई मेसीले दिए क्लब छोड्ने सूचना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ । लियोनेल मेसीले बार्सिलोनालाई आफुले क्लब छोड्न चाहेको बताएका छन् ।

बिबिसीका अनुसार ३३ वर्षीय विश्वकै उत्कृष्ट खेलाडी मेसीले क्लबलाई फ्याक्समार्फत आफ्नो सम्झौतामा भएको रिलिज क्लजलाई कम गर्न अनुरोध गर्दै आफुलाई क्लब छोड्न अनुमति दिन अनुरोध गरेका छन् ।

मेसीले आफुलाई तुरुन्तै देखि क्लब छोड्ने वातावारण बनाइदिन आग्रह गरेका छन् ।

६ पटकका बेलुन डो अर विजेता मेसीको बार्सिलोनाबाट बहिर्गमन हुने विषय अहिले विश्वभरका फुटबल फ्यानहरुबीच बहसको विषय बनेको छ । बार्सिलोनाका पूर्व खेलाडी र मेसीलाई चिन्नेहरुले क्लब भित्रको चरम राजनीति र अहिलेका अध्यक्ष जोसेप मारिया बोर्टेमेउको गलत नीतिका कारण क्लब संकटमा पुगेको बताउदै मेसीले क्लब छोड्ने दाबि गरिरहेका छन् ।

मेसीको २०२१ सम्म बार्सिलोनामा सम्झौता रहेको छ भने अहिले ७ सय मिलियन युरो रिलिजको शर्त रहेको छ ।

बिबिसीले मेसीको यस्तो अनुरोधपछि बार्सिलोनाको बोर्डको बैठक बस्न लागेको बताइएको छ ।

बोर्डले अहिलेका अध्यक्षले राजीनामा दिएमा मेसीले नछोड्ने विश्वास व्यक्त गरेपनि मेसी अब क्लबमा नबस्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मेसीले क्लब छोड्न चाहेको आग्रह गरेको समाचार बाहिरिएपछि बार्सिलोनाका फ्यानहरु क्लबको क्याम्प नेउको स्टेडियम अगाडी जम्मा भएर प्रदर्शन गर्न शुरु गरेका छन् ।

त्यस्तै मेसी र क्लबबीचको कानुनि झमेला पनि शुरु हुन सक्ने बताइएको छ । मेसीले जुन १० अघि सम्म क्लबलाई खबर गरेको भए फ्री-ट्रान्सफरमा कुनै पनि क्लबमा जान सक्ने सम्झौतामा उल्लेख रहेको छ । तर क्लबले भने सो मिति अहिले गइसकेकाले त्यो सम्भावना नरहेको बुझाई रहेको छ । तर मेसी र उनको टिमको भने कोरोना महामारीका कारण जुन १० सम्मको डेडलाइन अगस्त सम्म बढ्न सक्ने बुझाई सहित क्लब छोड्ने सन्देस दिएको बुझिएको छ । यो विषयमा कानुनि लडाई हुनसक्ने अनुमान गरीएको छ ।

नयाँ म्यानेजर रोनाल्ड कोम्यान आएपछि मेसीले क्लब छोड्ने निर्णय गरेको बताइएको छ । कोम्यानले अन्य सिनियर खेलाडी जस्तै लुइस स्वरेजसहितका खेलाडीलाई गरेको व्यवहार बाट समेत मेसी असन्तुष्ट रहेको बताइएको छ । स्वरेजसँग कोम्यानले एक मिनेटको फोन कुराकानीमा नै उनलाई आउदो सिजनको योजनामा आफुले नराखेको बताएको मिडिया रिपोर्ट बाहिर आएको छ ।

कोम्यान र मेसीबीचको कुराकानी नै असहज रुपमा सकिएको र सो कुराकानीपछि नै मेसीले क्लब छोड्ने निर्णय लिएको बताइएको छ ।

अब प्रश्न मेसी कुन क्लब जान्छन भन्ने रहेको छ । मेसी जस्तो खेलाडीलाई भित्राउन फ्रेन्च क्लब पिएसजी र प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी सबै भन्दा अगाडी देखिएका छन् । उनीहरुले मेसीलाई भित्राउन आवश्यक बजेटका लागि आफ्नो एक्सरसाइज समेत शुरु गरेको बताइएको छ ।

१३ बर्षको उमेरमा सन २००० मा बार्सिलोनासँग आवद्ध भएका मेसीले बार्सिलोनाका लागि अहिलेसम्म ७३१ खेलमा ६३४ गोल गरेका छन् । उनले क्लबमा अहिलेसम्म प्रमुख ३४ उपाधि जितेका छन् जसमा १० ला लिगा उपाधि र चार च्याम्पियन्स लिग उपाधि रहेका छन् ।

६ पटकबेलुन डो अर उपाधि जितेका मेसी लगातार १० सिजनसम्म ४० भन्दा बढी गोल गर्ने किर्तिमान राखेका छन् । उनी ला लिगामा सबै भन्दा बढी ४४४ गोल गर्ने खेलाडी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय